दौरासुरवाल बारे प्रचण्डले दिए यस्तो प्रष्टीकरण


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस २६ २०७९
3K
SHARES

२६ पुस काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दौरा सुरुवालको लामो प्रसंग संसद्मा सुनाएका छन् ।  विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफल सकिएपछि जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले आफ्नो दौरा सुरुवालका विषयमा जवाफ दिएका हुन् ।

ओलीको सुझावमा ढाका टोपीमा दौरा सुरुवाल ढल्काएको भन्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले तपाइँलाई सबैको प्रधानमन्त्री कसरी मान्ने भन्दै प्रश्न उठाएका थिए ।

मेरो दौरा सुरुवाल र प्रचण्डबारे पनि यहाँ प्रश्न र चर्चा भयो । चर्चा भइराखेको छ बाहिर पनि,” सन्दर्भ कोट्याउँदै प्रचण्डले भने, “मलाई कयौँ विदेशी कूटनीतिज्ञले पनि तपाइँले दौरा सुरुवाल कोट किन नलगाएको भनेर सोध्ने गर्थे । देशभित्रकै पार्टीका साथीहरुले पनि भन्ने गर्नुहुन्थ्यो । म के कुरा प्रष्ट गर्न चाहन्छु भने म दौरा सुरुवाल कोट विरोधी चाहिँ कहिल्यै थिइनँ ।”

उनले आफूले रोजेको राजनीति र प्रक्रियामा दौरा सुरुवाल कोट लगाउने अवसर नजुरेको बताए । “मैले रोजेको राजनीति र प्रक्रियामा मलाई दौरा सुरुवाल कोट लगाउने अवसर जुरेको थिएन,” प्रचण्डले भने, “मैले सामान्य अरु ड्रेस नै लगाउने हुनाले सहज जे हुन्छ त्यही सहज हुँदै गयो, बानी त्यही पर्‍यो,” प्रचण्डले भने, “यहाँ सदनभित्र आइसकेपछि हाम्रा माननीयहरुलाई मन्त्री भएपछि पनि मैले जे सहज हुन्छ त्यही लगाउन स्वतन्त्र हुनुहुन्छ भनेको थिएँ । साथीहरुले लगाउनुभयो । मैले पनि उपयुक्त समयमा लगाउँछु होला भन्ने त मलाइ लागिरहेकै थियो ।”

उनले प्रतिस्पर्धाको राजनीतिमा धेरै क्रान्तिकारी हुनेले नजित्ने गरेका प्रसंग सुनाए । जनभावनालाई सम्बोधन गर्न खोज्नेलाई नै जनअनुमोदन पनि हुने गरेको उनको भनाइ थियो ।
“फेरि प्रतिस्पर्धाको राजनीतिमा आएपछि आम जनताको मनोभावना सम्बोधन गर्न सकिएन भने क्रान्तिकारिताको प्रदर्शनले निर्वाचनमा राम्रो परिणाम दिएको पनि देखिन मैले,” प्रचण्डले भने, “लगाउने जतिले जितेका छन् नलगाएकाले हारेका छन् ।”उनले त्यसपछि आफ्नो उपयुक्त समयको चर्चा गरे ।

“प्रधानमन्त्री मनोनीत हुँदै गर्दा त्यहाँ चर्चा चल्यो । राष्ट्रपतिले नि भन्नुभयो –तपाइँलाई दौरा सुरुवालमा हेर्न मन छ मलाई । अरु सत्ता साझेदार दलका नेताहरु केपी ओलीजी, रवि लामिछानेजी, हाम्रै पार्टीबाट नारायणकाजी श्रेष्ठ (उहाँले त पहिल्यैदेखि लगाउनुहुन्थ्यो) । सबैले तपाइँले भोलि शपथ ग्रहणमा त दौरा सुरुवाल लगाउनुपर्‍यो भन्नुभयो,” प्रचण्डले भने, ”मैले उपयुक्त समयमा लगाउने हो उपयुक्त समय विचार गर्छु भनेपछि त्यो राष्ट्रिय समाचार जस्तै बन्यो । प्रचण्डले भोलि दौरा सुरुवाल लगाउने भयो भन्ने प्रचार भयो । मैले कति नेगेटिभ कमेन्ट आउँछ भनेर हेरेँ । नेगेटिभ मैले एउटा पनि देखिनँ । पोजेटिभ मात्र देखेपछि मैले यो निर्णय त लिनैपर्ने भयो । जनअभिमतअनुसार पनि लगाउनुपर्ने भयो भनेर मैले लगाएको मात्रै हो ।”

उनले मधेस जाँदा सबै दलका नेताहरुले कुर्था सुरुवाल लाउने र धोती पनि लगाउने भन्दै आफूले पनि लगाएको बताए ।

“मैले हिजो यहाँ कुरा राख्दै गर्दा पनि विभिन्न भाषामा भेष भुषासहित शपथ ग्रहण गरेको कुरालाई गर्वका साथ राखेको थिएँ,” प्रचण्डले थपे, “बुझ्दै जाँदा दौरासुरुवाल चाहिँ आम नेपालीहरु –के खस आर्य, के आदिवासी जनजाति सबैको साझा पोसाकको रुपमा विकास भएको भन्ने नै यसको इतिहास हो ।”

उनले यही कुरा मनन् गरेर आफूले दौरा सुरुवाल लगाएको भन्दै धेरै चर्चा नगरिदिए आफूलाई सहज हुने बताए । “बढी चर्चा गरिदिनुभयो भने मलाई असहज हुन्छ कि भनेर डर लागेको छ,” उनले भने, “त्यसकारण धेरै चर्चा नभइदिए हुन्थ्यो भन्ने छ मलाई ।”