एमालेबाट यी नेताहरू मन्त्री बन्दै


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस २७ २०७९
8.1K
SHARES

२७ पुस काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विश्वासको मत प्राप्त गरिसकेका छन् । अब मन्त्रिपरिषद् विस्तारबारे सत्तासाझेदार दलहरूबीच छलफल हुने नेताहरूको भनाइ छ ।

सत्ता साझेदारमध्येको सबैभन्दा ठूलो दल नेकपा (एमाले)बाट चार मन्त्री नियुक्त भइसकेका छन् । एमालेका उपाध्यक्ष विष्णु पौडेलले उपप्रधान एवं अर्थमन्त्रीको जिम्मेवारी पाइसकेका छन् । एमालेका नेताहरू दामोदर भण्डारी, ज्वालाकुमारी शाह र राजेन्द्रकुमार राई पनि मन्त्रीमा नियुक्त भइसकेका छन् । बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका उनीहरूको मन्त्रालय टुंगो लाग्न बाँकी छ ।

अब एमालेबाट को–को मन्त्री हुनेछन् भन्ने निर्णय भइसकेको छैन । एमाले उपमहासचिव विष्णु रिमाल मन्त्रालयको टुंगो लागेपछि मन्त्रीका लागि मापदण्ड बनाइने बताउँछन् । उनका अनुसार केही नयाँ अनुहारले अवसर पाउनेछन् । केही पुरानै अनुहार दोहोरिनेछन् ।

“कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगो लागिसकेको छैन । प्रधानमन्त्री आज गोरखा जानुभएको छ । फर्किएपछि मन्त्रालयबारे छलफल हुन्छ,” रिमालले बाह्रखरीसित भने, “मन्त्रालयको टुुंगो लगाएपछि पार्टीमा मापदण्ड बन्छ । नयाँ र पुराना दुवै समेटिनुहोला ।”

चर्चामा को–को ?

महत्त्वपूर्ण मन्त्रालय पाएमा पदाधिकारी नै मन्त्री बन्न सक्ने सम्भावना रहेको नेताहरू बताउँछन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू रघुवीर महासेठ र टोपबहादुर रायमाझी मन्त्री बन्ने सम्भावना रहेको नेताहरूको भनाइ छ । गुरुङको नाम सभामुख पदका लागि पनि चर्चामा छ ।

सांसदहरू एलपी साँवा, देवराज घिमिरे वा भगवती चौधरीमध्ये एकलाई सरकारमा पठाउने सम्भावना रहेको नेताहरू बताउँछन् । पर्वतका पदम गिरी पनि अबको मन्त्रीका लागि बढी चर्चामा छन् ।

पार्टीका सचिव छविलाल विश्वकर्मा समेत मन्त्री बन्न सक्ने बताइन्छ । उनले भने सभामुखका लागि दाबी गरिरहेका छन् । उनी मन्त्री नबने पोलिटब्युरो सदस्य एवं स्कुल विभागका उपप्रमुख ईश्वरी रिजालले अवसर पाउने सम्भावना रहेको नेताहरूको भनाइ छ ।