नेकपाको खास उत्तराधिकारी समाजवादी – नेता भुसाल
३० पुस काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) पूर्वउपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। सैद्धान्तिक र वैचारिक रूपमा तत्कालीन नेकपाको खास उत्तराधिकारी एकीकृत समाजवादी नै रहेकाले यो पार्टी रोज्नुपरेको उनले दाबी गरे।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच उनले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गरेका हुन्। नेता भुसालले अबको कम्युनिस्ट आन्दोलनको लिगेसी नेकपा एकीकृत समाजवादीसँग रहेको दाबी गरेका छन्। तत्कालीन नेकपा विभाजन भएपछि एकीकृत समाजवादीले नै अबको कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने उनको दाबी छ।
भुसालले आफू एकीकृत समाजवादीमा प्रवेश गरेको स्वघोषणा गर्दै पार्टीको सदस्यता नवीकरण गर्न निवेदन दिनेसमेत बताए। उनले समाजवादको कार्यदिशालाई अघि बढाउनका लागि एकीकृत समाजवादीजस्तो अरू कुनै पार्टी आफूले नदेखेको दाबी गरे। कम्युनिस्ट आन्दोलनका लागि एकीकृत समाजवादी असाधारण ठाउँ भएकाले यही पार्टी रोजेको जिकिर भुसालले गरेका छन्। राजनीति र अदालतको गठजोरले कम्युनिस्ट पार्टी विभाजन गरेको र त्यसपछि बनेका अन्य दलले समाजवादको कार्यदिशा अघि बढाउन नसक्ने उनले आरोप लगाए।
भुसालले एकीकृत समाजवादीले वाम एकताका लागि गठन गरेको वार्ता समितिसमक्ष पाँचबुँदे प्रस्ताव राखेका थिए। सो प्रस्तावलाई एकीकृत समाजवादीले स्वीकारेपछि उनी पार्टी प्रवेश गरेका हुन्। एमाले र खासगरी केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) को हुर्मत लिएको आरोप लगाउँदै भुसालले भने, ‘ओली सिद्धान्त, ओलीवाद र ओली संगठनका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको छ। यस्तो अवस्थामा नेकपा एमालेमा रहन सकिनँ।’ उनले अगाडी थपे, ‘व्यावहारिक रूपमा भन्ने हो भने एकातिर हलो र अर्कोतिर घण्टी राखेर बालकोटबाट शासन चलाउने व्यवहार भइरहेको छ। एमालेले फेरि पनि असमयमै संसद् विघटन गर्ने धम्की ओलीले दिए पनि माओवादी हिजोकै अवस्थामा फर्किएको देखियो।’
यसअघि उनले कम्युनिस्ट पार्टीहरूको एकीकरणका लागि एकीकृत समाजवादी पार्टीको कार्यदिशा ठीक भएको बताएका थिए। एमालेले गत निर्वाचनमा टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। तत्कालीन पाँचदलीय गठबन्धनको समर्थन रहे पनि उनी रूपन्देही १ बाट एमाले सचिव छविलाल विश्वकर्मासँग पराजित भएका थिए। एमालेले निर्वाचनमा टिकट नदिएपछि पार्टी परित्याग गरेका भुसाल एमाले अध्यक्ष ओलीको कार्यशैलीप्रति आपत्ति जनाउँदै फरक मत राख्दै आएका नेता हुन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले विभाजन गरी अर्को पार्टी गठन गर्दा नेपाल समूहमै रहेका भुसालले एमाले नै रोजेका थिए।
यसअघि एकीकृत समाजवादीका महासचिव तथा वाम एकता वार्ता समितिका संयोजक डा। वेदुराम भुसालले नेता भुसाललाई बुधबार पार्टीमा प्रवेशका लागि स्वागत पत्र पठाएका थिए। भुसाललाई पार्टीमा स्वागत गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले पुरानै विचार, दृष्टिकोण र सिद्धान्तले एमाले नसुध्रिने बताए। एमाले नसुध्रिने निष्कर्षमा आफ्नो पार्टी र भुसाल पुगेको बताउँदै अन्य नेता पनि एमाले छाड्दै आउने दाबी गरे। एकीकृत समाजवादीलाई अब ‘हाम्रो र राम्रो पार्टी’ बनाउने बताउँदै अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन इमानदार कम्युनिस्टलाई गोलबद्ध बनाएर एकताबद्ध रूपमा अघि बढ्ने बताए।
उनले विगतको समीक्षा गर्दै नयाँ ढंगले पार्टी सुदृढीकरण र पुनर्गठन गरेर अघि बढ्ने र बेग्लै पहिचान स्थापित गर्ने पनि बताए। त्यस्तै, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष ओली राजावादीसँग साँठगाँठ गर्न पुगेको आरोप लगाएका छन्। उनले ओली दक्षिणपन्थी भासमा भासिएपछि आफूहरूले एमालेबाट विद्रोह गरेको बताए।
‘अहिले उहाँ (ओली) राजावादीसँग अंकमाल गर्न पुग्नुभएको छ, दुईतिहाइको बहुमतलाई छाडेर सामान्य बहुमत ल्याउन पनि नसक्ने, देशको ठूलो पार्टी पनि हुन नसक्ने र पुनरुत्थानवादीसँग अंगालो हालेरमात्रै सत्ता प्राप्त गर्ने अवस्थामा पुग्नुभएको छ। यो उहाँको जीवन र देशको लागि केही समयका लागि दुर्भाग्य हो,’ उनले भने ।
घनश्याम भुसाल एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेपछि देशभरका युवामा आशाको तरंग पैदा भएको खनालले बताए। एमाले आफूहरूले नै बनाएको बताउँदै उनले अब एकीकृत समाजवादीलाई बलियो र शक्तिशाली पार्टीका रूपमा स्थापित गर्ने पनि उनले बताए।