यी हुन् सपथ लिने सम्भावित मन्त्री


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ ३ २०७९
3.5K
SHARES

३ माघ काठमाडौं । मन्त्रिपरिषद् विस्तार आज हुँदैछ । आज अहिले सपथका लागि समय तय गरिएको छ । सोमबार राति सकिएको बैठकमा एमालेले ८ मन्त्री र एक राज्यमन्त्री, माओवादीले चार मन्त्री र एक राज्यमन्त्री, रास्वपाले तीन मन्त्री र एक राज्यमन्त्री, राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री, पाउनेगरी सहमति जुटेको छ ।

नेकपा एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था र महिला मन्त्रालय पाउने छ भने माओवादीले सञ्चार, भौतिक पूर्वाधार, संघीय मामिला र पर्यटन मन्त्रालय पाउनेछ । त्यसैगरी रास्वपाले गृह, शिक्षा र श्रम मन्त्रालय पाउनेछ । गृह मन्त्रालयमा रवि लामिछाने गइसकेका छन् ।

त्यसैगरी राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय पाउने लगभग निश्चित भएको छ । एमालेले आज पदम गिरी, भगवती चौधरी, हरि उप्रेती र बलराम अधिकारीलाई मन्त्री बनाउने तयारी गरेको छ । किरण साह र राजकुमार गुप्तामध्ये एकलाई राज्यमन्त्री बनाउने तयारी गरिएको छ ।

तर गुप्ताको नाम फौजदारी घटनामा जोडिएको हुनाले सम्भावना कम रहेको स्रोत बताउँछ । एमालेले दुईपटक निर्वाचित भएर पनि सरकारमा सहभागी हुन नपाउनेलाई प्राथमिकतामा राखेको जनाएको छ । एमालेले मन्त्रीको नामावली टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई नै दिएको छ । माओवादीबाट शक्ति बस्नेत, सुदन किराँती, रेखा शर्मा, अमनलाल मोदीलगायतलाई सरकारमा पठाउने तयारी गरेको छ । रास्वपाले शिशिर खनाललाई शिक्षा र डीपी अर्याललाई श्रममन्त्री बनाउने तयारी गरेको छ । त्यस्तैगरी तोसिमा कार्की या सोविता गौतममध्ये एकलाई राज्यमन्त्री बनाउने तयारी गरिएको स्रोत बताउँछ ।

सो पार्टीका एक नेताले दिएको जानकारीअनुसार अहिले पनि आन्तरिक छलफल भइरहेको छ । राप्रपाबाट आज उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्रीमा राजेन्द्र लिङ्देनले शपथ लिनेछन् भने सहरी विकासमा ध्रुवबहादुर प्रधानले लिनेछन् । राज्यमन्त्रीमा भने दीपक सिंहलाई लैजाने तयारी राप्रपाले गरेको छ । खेलकुद मन्त्रालयमा धेरै नेता आकांक्षी रहेको सो पार्टीका एक नेताले जानकारी दिए ।  आज १ बजे शपथको तयारी गरिएको भए पनि अहिलेसम्म राष्ट्रपति कार्यालयमा भने नामावली नपुगेको बताइएको छ ।

राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले दिएको जानकारीअनुसार मन्त्री हुनेहरुको नामावली अझै राष्ट्रपति कार्यालयमा पुगेको छैन । त्यसपछि शपथको तयारी हुनेछ ।