चित्रबहादुरको प्रश्न– गृहमन्त्रीको रेकर्ड के छ ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ ५ २०७९
2.2K
SHARES

५ माघ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गृहमन्त्रीदेखि सहरी विकासमन्त्रीको ‘रेकर्ड’ हेर्दा सरकारको असली रूप देखिने बताएका छन् । उनले नयाँ आउने पार्टी र सांसद तथा मन्त्रीहरूको पनि असली रूप देखिन लागेको भन्दै त्यसले दुर्घटनातर्फ लैजाने संकेत गरेको बताए । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले यसो भनेर हलो काट्न गएका सबै भीरतिर पुगेको कहानी सुनाए ।

“सातजना दाजुभाइ हलो काट्नका लागि रुख ढाल्न गएछन् । दुई भाइले ढाल्न थालेछन् । बाँकी चार भाइले रुख उभोतिर तान्न रुखमा बाँधेको डोरी कम्मरमा बाँधेर बसेछन् । बडेमानको रुख तिनीहरूले किन थेग्न सक्ने, भीरबाट ढल्ला पाँचै भाइ गएछन् । बाँकी दुई भाइ पनि उनीहरूले हलो रोज्छन् भनेर त्यतै गएछन्,” चित्रबहादुरले कहानी सुनाउ ।

उनले नयाँ भनिएका पार्टीहरू पनि रुख ढाल्ने दुईजनाजस्तै भएको र पुरानाहरूतिरै हामफालेको बताए । “आज गृहमन्त्रीको रेकर्ड के छ ? सहरिया मन्त्रीको रेकर्ड के छ ?,” केसीले प्रश्न गरे, “के नयाँबाट यही कुरा अपेक्षा गरेको हुन् जनताले ?” उनले स्वार्थ बाझिने व्यक्तिहरू मन्त्री बनाउने परम्परा नयाँदेखि पुरानासम्म कसैले नछोडेको बताए । प्रमुख प्रतिपक्ष दाबी गरिरहेको नेपाली कांग्रेसलाई पनि उनले कटाक्ष गर्न भ्याए ।

“अस्ति प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांगेस अहिले कुन मुखले आफूलाई प्रतिपक्ष दाबी गर्दै छ ?,” केसीले भने । उनले व्यवस्था परिवर्तनका लागि सबै लडेको भन्दै त्यसको व्यवस्थापन गर्ने र जनताको विश्वास बढाउने विषयमा कोही पनि जिम्मेवार नदेखिएको बताए । तत्कालीन संसद् विघटनलाई आफूले अहिले पनि प्रतिगमन भनिरहेको भन्दै उनले त्यसो भन्ने अरू पार्टीहरू परिवर्तन भइसकेको बताए ।