यस्ता छन् अखिल (क्रान्तिकारी) उपत्यका विशेष समितिको बैठकका निर्णयहरू


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ १५ २०७९
4.8K
SHARES

१५ माघ काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को पवन कार्की नेतृत्वको समूहको उपत्यका विशेष प्रदेश समितिको पूर्ण बैठक बसेको छ । बानेश्वरस्थित क्याम्पसमा बसेको बैठकमा केन्द्रीय समितिले यही माघ ६ गते गरेको परिपत्र वाचनका साथै विशेष प्रदेश समितिको मातहतका जिल्ला संयोजक इन्चार्जहरू र उपत्यकाका १५ ठूला क्याम्पस समितिका अध्यक्षहरूसँग रिपोर्टिङ भएको थियो ।

पूर्ण बैठकलाई सम्बोधन गर्दै संयोजक पवन कार्कीले संगठन विस्तार गर्न खटिनेलाई अवसर दिने र निष्क्रिय भएकालाई बिदा गरिने बताए । ‘संगठन विस्तार गर्दै फिल्डमा हुने साथीहरूलाई अवसर दिने र फिल्डमा नहुने, निष्क्रिय भएका साथीहरूलाई अन्य कमिटीमा लैजाने वा ससम्मान विदा गरिने छ,’ संयोजक कार्कीले भने ।

उनले अगाडि थपे, ‘स्ववियु निर्वाचनको लागि क्याम्पस समितिका साथीहरूलाई नै उम्मेदवार बनाएर अघि बढ्ने छौँ । पञ्चा सिंहले यस म्यान खोज्दैछन् । सहीलाई सही र गलतलाई गलत भन्न नसक्नेहरूको झुण्ड बनेको संगठनको नेतृत्व पन्चा जी गर्दै छन् । आजको दिनसम्ममा आइपुग्दा पञ्चा कमरेडहरू संगठनलाई बदनाम गर्दै विभिन्न आर्थिक चलखेलमा मुछिनु भएको छ । उहाँहरू आफैँ एकअर्काको विरुद्ध समानान्तर समिति घोषणा गर्दै हिँडेका छन् । पार्टीको पालन पोषण प्राप्त भए पनि केही गर्न सक्नु भएन । उल्टै पार्टीको नाम हसाउँदै हिँडेको देखिन्छ ।’

कार्कीले आफूहरूसँग विचार, नीति, कार्यक्रम, सिद्धान्त बुझेका व्यक्ति भएकाले संगठन चलाउन सक्षम रहेको पनि दाबी गरे । ‘हामीसँग वास्तविक विद्यार्थी, जो दिन रात फिल्डमा छन्, सहीलाई सही र गलतलाई गलत भन्दै विद्रोह गर्नसक्ने आँट बोकेका साथीहरू छन् । नेकपा (माओवादी केन्द्र) को विचार, नीति, कार्यक्रम र क्रान्तिकारी स्वभाव बोकेको भातृ संगठन विद्यार्थी संगठन हामीले चलाउँदै छौँ,’ उनले भने ।

यसपालिको स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) लाई एक नम्बरको संगठन बनाउने जिम्मेवारी आफूहरूको काँधमा आएको पनि संयोजक कार्कीले बताए । ‘पार्टी र पार्टीका नेतालाई पटकपटक मूर्ख बनाउँदै पञ्चा सिंहको नेतृत्वमा केही केही वैठक त बसे । तर निर्णय गर्न सकेन । उहाँले संगठनलाई चलायमान बनाउन पनि सक्नु भएन । संगठनलाई चलायमान बनाउनको निम्ति चाहिने विधानलाई पोलेर खाइसकेको हुनाले पञ्चा कमरेडबाट अब एकीकृत अखिल (क्रान्तिकारी) हाँक्न सक्ने सम्भावना छैन,’ उनले भने ।

पार्टी कमिटीले तत्काल पाञ्चा सिंहलाई बर्खास्त गर्दै स्ववियु निर्वाचनको समयमा संगठनलाई एक बनाउन अहम भूमिका तत्काल खेल्नको निम्ति पार्टी नेतृत्वलाई अनुरोध गरेको पनि प्रवक्ता उपदेश यादवले बताए । बैठकमा संगठन (जिल्ला, क्याम्पस कमिटीको भेला तथा वैठक, विस्तार अभियान), रिभोलुसनरी फोर्स गठन, स्ववियु निर्वाचन र संगठनले प्रकाशन गर्ने मुखपत्रको विषयमा पनि छलफल भएको थियो ।

स्ववियु सम्बन्धित कार्यशाला, कार्यक्रम तीव्र गतिमा अगाडि बढाउने पनि बैठकले निर्णय गरेको छ । साथै नयाँ सदस्यता वितरण, प्रदेश कमिटीको पूर्णता र केन्द्रीय समितिले जारी गरेको विभिन्न कार्यदलमा सहयोग गर्ने निर्णय गरेका छन् ।

केन्द्रीय नेताहरू प्रवक्ता उपदेश यादव, संगठन विभाग प्रमुख बालकुमार केसी,प्रचार प्रसार विभाग प्रमुख सुमन अधिकारी ,अनुशासन आयोग प्रमुख विष्णु भट्टराई, छात्रा विभाग प्रमुख सुष्मा रेग्मी, वार्ता समन्वय विभाग प्रमुख सागर केसी, शैक्षिक विभाग प्रमुख तथा विशेष प्रदेश समितिका इन्चार्ज रवीन बस्नेत, विभागीय प्रमुख चेत बोलखेलगायतका नेताहरूको आतिथ्यतामा भव्यतापूर्वक बैठक सम्पन्न भएको विशेष प्रदेश समितिको संयोजक सञ्जीव कार्कीले जानकारी दिए ।