माओवादीसँगको शान्ति सम्झौताको सक्कलप्रति कहाँ छ – सांसद ढकाल


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ १८ २०७९
3.2K
SHARES

१८ माघ काठमाडौँ । नेकपा एमालेबाट समानुपातिक सांसद बनेका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले सरकार र तत्कालीन माओवादीबीच भएको बिस्तृत शान्ति सम्झौंताको सक्कलप्रति माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद ढकालले २०६३ साल मंसिरमा भएको माओवादी र सरकारबीचको शान्ति सम्झौतापछि बिभिन्न चरण पार गर्दै नयाँ संविधान बनेपछि २ वटा आमनिर्वाचन सम्पन्न भएको बताए ।

उनले भने– ‘बिस्तृत शान्ति सम्झौताको सक्कलप्रति कोसँग र कहाँ छ ? शान्ति सम्झौताका हस्ताक्षरकर्ता अहिले तेश्रोपटक प्रधानमन्त्री भइसक्नुभएको छ तर शान्ति प्रक्रियाको एक महत्वपूर्ण पक्ष संक्रमणकालीन न्यायसम्बन्धी खासै प्रगति हुन सकेको छैन । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका ब्यक्तिहरुको छानविन आयोगले पीडितहरुबाट ६० हजारभन्दा धेरै उजुरी प्राप्त गरेको भएको भएपनि हालसम्म एउटै पनि अनुसन्धान गर्न सफल भएको छैन ।’ उनले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी काम पूरा गर्नेबारे सरकारको नीति तथा कार्यक्रममा पनि उल्लेख रहेको बताउँदै संक्रमणकालीन न्याय नपाउँदा गम्भीर अवस्था आउनेतर्फ सरकारलाई सचेत गराए । यो विषयलाई उच्च प्राथमिकतामा राख्न पनि सरकारको ध्यानाकर्षण गराए ।