बैंकका सिइओ प्रहरी हिरासतमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ १९ २०७९
1.9K
SHARES

१९ माघ काठमाडौ । बैंकिङ कसुरमा कामना सेवा विकास बैंकका सिइओ प्रविन बस्नेत पक्राउ परेका छन् । यस अघि किष्ट बैंकका सिइओ कमल ज्ञवाली यस्तै मुद्धामा पक्राउ पछि जेल चलान भएका थिए । पटक–पटक विवादमा मुछिदै आएको कामना सेवा विकास बैंक फेरि अर्को विवादमा फसेको छ ।

कामना सेवा विकास बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले सिइओ सहित चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेतसहित चार जनालाई पक्राउ परेका हुन् ।

उनीसँगै हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो। हरेन्द्र दाहाल र चन्द्रबहादुर थापा ऋणी हुन्। उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरेको हो।प्रहरीले जिल्ला अदालत झापाबाट म्याद थप गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ।

उनीहरूले बैंकबाट ऋण दिँदा थोरै धितो राखेको र राखेको धितो पनि भए नभएको नखुलेपछि अनुसन्धान अघि बढेको थियो। ऋणीले जग्गा र उनीहरूले गरेको व्यवसाय नै धितोको रूपमा राखेका थिए। नेपाल राष्ट्र बैंकबाट केन्द्रीय अनुसन्धान ब्युरोलाई यस सम्बन्धमा अनुसन्धान गर्न पत्र लेखेको थियो। ब्युरोले प्रारम्भिक रूपमा अनुसन्धान गरेर दमक शाखाको घटना भएकाले थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालयमा पठाएको थियो।

बैंकका निर्देशक विश्वेश्वर सुवेदीका अनुसार यसरी धितो कम राखेर ऋण प्रवाह गर्दा ४ देखि ५ करोडसम्म घाटा हुन आएको देखिन्छ। अनुसन्धानका लागि प्रहरीले ऋण दिँदा फाइलमा हस्ताक्षर गरेकाहरूलाई पनि बोलाएर सोधपुछ गरिरहेको छ ।