ओली जी , मेरो पार्टीका कुनै सांसदलाई प्रधानमन्त्री स्वीकार्नु हुन्छ – प्रधानमन्त्री प्रचण्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २२ २०७९
2.5K
SHARES

२२ माघ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयसम्म पनि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नै दिन प्रधानमन्त्रीमाथि दबाब बढाएका छन् । पटक पटक भएको भेटमा उनले यस्तो अडान नछाडेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

स्रोतले दिएको जानकारीअनुसार ओलीले राष्ट्रपतिकहाँ हस्ताक्षर बुझाउन जानुअघिको सहमति पूर्ण कार्यान्वयन हुनुपर्ने बताएका थिए । त्यस्तो अवस्थामा राष्ट्रपति एमालेले पाउनेछ भने गृह मन्त्रालय रास्वपाले नै पाउनेछ ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कुनै पनि हालतमा रास्वपालाई गृह मन्त्रालय दिन तयार नभएको स्रोतको दाबी छ । प्रधानमन्त्री दाहालले अर्को कुनै मन्त्रालय दिन तयार रहेको तर रोजाइको मन्त्रालय दिन नसकिने अडान कायमै राखेका थिए ।

स्रोतले दिएको जानकारीअनुसार ओलीले गृह मन्त्रालय माओवादीले नै राख्ने भए भौतिक योजना तथा पूर्वाधार मन्त्रालय रास्वपालाई दिन भनेका थिए ।

“हामीले गृह मन्त्रालय रास्वपालाई नभएर रविलाई हेरेर दिएका थियौँ,” प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “अहिले रवि सांसद पनि नभएको अवस्थामा उनलाई सरकारमा सहभागी गराउने कुरा कठिन छ । रास्वपाका अर्का व्यक्ति पठाउने भए अर्को कुनै मन्त्रालय दिन सकिन्छ,” दाहालको भनाई थियो ।

ओलीले भने रास्वपाले जसलाई पठाए पनि गृह मन्त्रालय दिनुपर्ने अडान राखेपछि दाहालले असन्तुष्टि जनाउँदै प्रश्न गरेका थिए– त्यसो भए हाम्रो पार्टीका कुनै पनि सांसदलाई प्रधानमन्त्री स्वीकार्न तयार हुनुहुन्छ ?”

शनिबार बिहान भएको भेटमा पनि गृह मन्त्रालयका विषयमा सार्वजनिक टिप्पणी नगर्ने भनिए पनि विराटनगर पुगेर ओलीले रास्वपाले नै पाउनुपर्ने गरी दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री दाहालले आपत्ति जनाएका थिए ।