पुस १० लागु नभए हाम्रो सम्झौता भंग हुन्छ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ५ २०७९
3.9K
SHARES

५ फागुन काठमाडौं । पोहोर–परारजस्तो चिसो रहेन यसपालिको पुस महिना । तर सत्तारुढ एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धमा चिसो ल्याउन त्यो महिनाका दुई अलग दिनहरुले योगदान गरिरहेका छन् । ओली प्रचण्डलाई सम्झाइरहेका छन्– पुस १० । प्रचण्ड ओलीलाई सम्झाइरहेका छन्– पुस २६ ।

शुक्रबार ओली निवास बालकोटमा दुई अध्यक्षहरुबीचको बैठक यिनै दुई तिथिहरुले सिर्जना गरेका जटिलतावरिपरि घुम्यो । ७९ सिटसहित संसदको दोस्रो ठुलो दल एमालेले पुस १० मा प्रचण्डलाई प्रधानमन्त्री बनाएको थियो । पुस २६ मा तिनै प्रचण्डलाई कांग्रेसले समेत विश्वासको मत दिएपछि राजनीति जटिलतातर्फ प्रवेश गरेको थियो । यही जटिलताका बीच  सत्ता साझेदार दुई अध्यक्षहरु आसन्न राष्ट्रपति चुनावमा बेग्लाबेग्लै दाउ हेरिरहेका छन् ।

शुक्रबार छोरी गंगा दाहाललाई लिएर बालकोट पुगेका प्रचण्डलाई ओलीले पल्लो सोफा देखाउँदै भने, ‘त्यो दिन (१० पुस) तपाईं छोरीसहित आउनुभएको थियो । आज पनि आउनुभएको छ । तर हाम्रो कुरो किन फरक पर्न गयो ?’प्रचण्डले के फरक परेको छ र भनी प्रतिप्रश्न गरेका थिए । ओलीले फर्काए, ‘त्यो दिन तपाईं पाँचै वर्षसम्म मिलेर जाउँ भन्दै आउनुभएको थियो, अहिले राष्ट्रिय सहमति भन्दैहुनुहुन्छ ।’ओलीले आफ्नो कुरालाई अझ स्पष्ट बनाउँदै भने, ‘तपाईं त्यो दिन ‘राष्ट्रपति एमालेलाई भयो’ भन्दै आउनुभएको थियो, अहिले एमालेलाई हुँदैन भन्दै हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्डका मूख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले अन्तिम घडीसम्म आ–आफ्ना तर्क राख्ने काम राजनीतिमा अनौठो नभएको भन्दै त्यसलाई अन्यथा बुझ्न नहुने जिकिर गरे । उनले सहमतिकै लागि सबै कोसिसहरु भइरहेको बताए । ‘राष्ट्रिय सहमति हुनुपर्छ भन्नु कुनै गलत कुरा होइन, फेरि निर्णय गर्नका लागि समय पनि बाँकी नै छ,’ उनले भने, ‘नोमिनेसनका बेलासम्म छलफल भइराख्यो भने पनि के बिग्रन्छ र ? सहमतिकै प्रयास हुन्छ ।’