पुरानै गठबन्धन ब्युँताउने देउवा र दाहालबीच समझदारी, राष्ट्रपतिमा कसले मार्ला बाजी ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन ११ २०७९
2.4K
SHARES

११ फागुन काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पुरानै गठबन्धन ब्युँताउने समझदारी जुटेको छ ।

“हामी चुनावअघिकै गठबन्धन ब्युँताउनेगरी समझदारीमा पुग्यौँ,” कांग्रेसका एक प्रभावशाली नेताले बाह्रखरीसँग कुरा गर्दै भने, “यसमा एकीकृत समाजवादी र जनता समाजवादीबीच पनि एक चरणमा कुराकानी भएको छ । बिहीबार हामी सबै विषयमा प्याकेजमा निष्कर्षमा पुग्छौँ ।”

देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीको बैठकलगत्तै सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए।

त्यसलगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका प्रभावशाली नेताहरू घनश्याम भुसाल र बेदुराम भुसालसँग छलफल गरेका थिए ।

उनीहरूसँगको छलफलपछि केही पदाधिकारीसहित बालुवाटार पुगेका देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पुरानै गठबन्धन ब्युँताउन प्रस्ताव गरेका थिए ।“हामीले अस्तिको कुरा पुनः सम्झायौँ,” कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बाह्रखरीसँग भने, “विश्वासको मत दिएका छौँ राष्ट्रपतिमा सहयोग गर्नुस् भनेर आग्रह पनि गरेका छौँ । हामी उमेदवारी दिन्छौँ, तपाईंहरू सहयोग गर्नुस् भनेर भन्यौँ ।”

जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीले निर्णय गर्ने अधिकार आफूलाई दिएको भए पनि बिहीबार नेताहरूसँग बसेर निर्णय गर्ने बताएका थिए ।

“मलाई पार्टीले जिम्मेवारी दिएको छ, तपाईंहरूले उठाएको विषयमा म सकारात्मक छु । चाँडै निर्णय दिन्छु,” प्रचण्डको भनाई थियो ।

स्रोतले दिएको जानकारीअनुसार राष्ट्रपति कांग्रेसले पाउनेछ भने प्रचण्डले कति वर्ष प्रधानमन्त्री लिने र त्यसपछि को भन्ने विषयमा पुरानै गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरूको बिहीबार बस्ने बैठकले टुंगो लगाउनेछ ।