ओलीले गरेको प्रस्ताव एकीकृत समाजवादीद्वारा अस्वीकार


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन १३ २०७९
3.4K
SHARES

१३ फागुन काठमाडौँ । राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई सहयोग गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई गरेको प्रस्ताव सो पार्टीले अस्वीकार गरेको छ ।  ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गरेर आज पत्राचार गरेका थिए ।  तर सा पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले ओलीको प्रस्तावलाई स्वीकार गर्ने स्थिति नरहेको बताएका हुन् ।

यद्यपि ओलीको प्रस्तावले  औपचारिक रुपमा राजनीतिक संवादको ढोका खोलिदिएको उनको भनाइ छ ।  ‘नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा  एकीकृत  समाजवादीका अध्यक्षलाई सम्बोधन गरेर एमालेका  राष्ट्रपतिका उम्मेदवार  सुवास नेम्वाङलाई मतदान गर्न अनुरोध पत्र लेख्नुभएको छ।

यसको लागि धन्यवाद’, उनले भनेका छन्, ‘ राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति  नभएता पनि सकारात्मक सोचका साथ  राजनीतिक संवादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण  निर्माण हुन सक्दछ ।’