आज आठ राजनीतिक दलको अन्तरक्रिया


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १९ २०७९
2.7K
SHARES

१९ फागुन काठमाडौं । आठ राजनीतिक दलले आज सातवटै प्रदेशका प्रदेशसभा सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै छन् । फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलका नेताहरूले प्रदेशसभा सदस्यहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् ।

आफ्नो उमेदवारलाई जिताउन नेपाली कांग्रेसले सातवटै प्रदेशमा प्रतिनिधि खटाएको छ । कोसी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्माले जिम्मेवारी पाएका छन् । कोसी प्रदेशमा महामन्त्री शर्मासहित सहमहामन्त्री भीष्मराज आङदेम्बे पनि सहभागी हुनेछन् । मधेस प्रदेशमा फरमुल्लाहा मन्सुरले जिम्मेवारी पाएका छन् । मधेसमा सहमहामन्त्री महेन्द्र यादवलगायत पार्टीका नेताहरूको सहभागिता रहनेछ ।

वाग्मती प्रदेशमा महामन्त्री गगन थापालाई कार्यक्रमको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङ सहभागी हुनेछन् । त्यहाँ सहमहामन्त्री जीवन परियार पनि रहनेछन् ।

लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठोर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेले जिम्मेवारी पाएका छन् ।भेलामा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य समेतको सहभागिता रहनेछ ।

राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल साझा उमेदवार छन् । नेकपा एमालेले सुवास नेम्वाङलाई उठाएको छ । पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका साझा उमेदवार हुन् ।

यही फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदै छ । निर्वाचनका संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन् ।