भोट नहाल्ने राप्रपाको निर्णय
२४ फागुन काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । बुधबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता राजेन्द्र लिङदेनले राष्ट्रपतिका दुवै उमेदवार सक्रिय राजनीतिमा रहेकाले उनीहरूबाट निष्पक्ष र राष्ट्रको अविभावकीय भूमिका निर्वाह नहुने देखेपछि तटस्थ बस्न निर्णय गरेको जानकारी दिए ।
अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रपतिको निर्वाचनमा सहभागी हुने/नहुने, मतदान गर्ने/नगर्ने भन्ने विषयमा लामो छलफल गर्यौँ । र, अन्ततः सर्वसम्मत ढंगले यो राष्ट्रपतिको निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेका छौँ,” उनले भने ।
राष्ट्रपति पदको निर्वाचन भोलि हुँदै छ । निर्वाचनका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्तिमार्फत तटस्थ बस्ने निर्णय लिएको जानकारी दिएका छन् ।