एकीकृत समाजवादीबाट यी हुन् सम्भावित मन्त्री
७ चैत काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत प्राप्त गरेसँगै सत्ता गठबन्धनमा रहेका दलहरुले सरकार विस्तारबारे आन्तरिक छलफल सुरु गरेका छन् । गठबन्धनको तेस्रो ठूलो दल नेकपा (एकीकृत समाजवादी)ले (विश्वासको मत दिएको तेस्रो ठूलो दल रास्वपा सत्तासाझेदार दलको बैठकमा उपस्थित नभएकाले) केन्द्र र प्रदेश सरकारबारे छलफल थालेको हो ।
आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य रहेका छन् ।
पार्टी उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार कार्यदलले प्रदेश र केन्द्र सरकारबारे विभिन्न पक्षसँग छलफल गरी प्रस्ताव केन्द्रीय सचिवालयमा ल्याउने छ । “प्रदेश र केन्द्रको सरकारहरुबारे छलफल गरी निर्णयमा पुग्नका लागि प्रस्ताव तयार गरी केन्द्र सचिवालयमा ल्याउन कार्यदल बनाइएको हो,” बैठकपछि खतिवडाले भने ।
आजको सचिवालय बैठकमा सरकारमा जाँदा जनतासँग जोडिएर काम गर्ने खालका सुझाव आएको एकीकृत समाजवादीका एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार त्यस्ता मन्त्रालयहरुमा कृषि, ऊर्जा तथा सिँचाइ र युवा तथा खेलकुद मन्त्रालय रहेका छन् ।
“अहिले जनतासँग जोडिएर बढीभन्दा बढी काम गर्न सकिने मन्त्रालय लिनुपर्छ भन्ने सुझाव आएको छ,” एकीकृत समाजवादीका ती पदाधिकारीले बाह्रखरीसँग भने, “पावरफुल मन्त्रालयहित त्यसरी काम गर्नका लागि कृषि, ऊर्जा तथा सिँचाइ र युवा तथा खेलकुद मन्त्रालय हुनसक्छन् भन्ने सुझाव आएको छ ।”