देशमा राजनीतिक स्थायित्व कायम हुन्छ – प्रधानमन्त्री प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १६ २०७९
2.1K
SHARES

१६ चैत चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन्। भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै उनले अब देशमा राजनीतिक स्थायित्व कायम हुने छ भने।

नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने संकल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उनको भनाइ थियो। उनले भने, ‘राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्नेछ भन्ने मलाई विश्वास छ।’ सिंगो राष्ट्रलाई एकताबद्ध बनाएर विकास र समृद्धिको दिशातर्फ लैजान आफू लागिपरेको जनाउँदै उनले भने, ‘मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने नै रहेको छ।’

बैसठ्ठी वर्षअघि सुरु भएको भरतपुरको विमान उडान कार्य अहिले आएर विस्तार र ट्रमिनल भवन निर्माणको कार्य सुरु हुनेले छुट्टै महत्त्व बोकेको उनले बताए। यो आयोजना सम्पन्न भएसँगै ७२ सिटे जहाजको उडान र अवतरण सुरु हुने र यसले चितवनको मात्रै नभएर राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुग्ने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे। उनले नेपालमा पछिल्लो समय सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधानका लागि सरकार लागि परेको बताए।

उनले भने, ‘मेरो छिमेकी राष्ट्र भ्रमणका क्रममा अन्तर्राष्ट्रिय उडानको रुटका विषयमा महत्त्वका साथ छलफल गर्नेछु।’ लुम्बिनी विमानस्थलका विषयमा भारत भ्रमणका क्रममा र पोखरा विमानस्थलका विषयमा चीनसँग छलफल गर्ने उनले बताए। सरकारले निजगढ विमानस्थल निर्माणलाई महत्त्वका साथ अघि बढाएको उनको भनाइ छ। द्रुतमार्ग निर्माणसँगै निजगढ विमानस्थलको निर्माणको कामसमेत अघि बढाइने उनले बताए। चितवनको मेघौली विमानस्थल निर्माणको काम सुरु भएको जनाउँदै उनले त्यहाँबाट समेत छिट्टै उडान हुने बताए।

उनले भने, ‘चितवनमा रहेको अर्को मेघौली विमानस्थलसमेत सञ्चालनको प्रक्रियामा गयो।’ विमानस्थलको विकास र विस्तारले यहाँको पर्यटनको विकासका दृष्टिले नयाँ कोशेढुंगाका रुपमा काम गर्ने उनको विश्वास थियो। भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको व्यारेकलाई भरतपुर महानगरपालिका-१ स्थित दियालो बंगलामा र घोडा प्रजनन केन्द्रलाई भरतपुर-११ गणेस्थान नजिक स्थानान्तरण गर्ने सैद्धान्तिक सहमति भएको जनाउँदै उनले स्थानान्तरणका लागि एक दुई दिनमा सहमति हुने बताए।

फरक प्रसंगमा उनले चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण चाँडै सुरु हुने जानकारी दिए। रंगशालाको समस्या एक दुई हप्तामा समाधान हुने र निर्माण अगाडि बढ्ने उनले बताए। उनले भने, ‘त्यो रंगशाला, मलाई लाग्छ एक या दुई हप्ताभित्र त्यसको सबै समस्या समाधान हुन्छ र निर्माण अगाडि बढ्छ।’