स्वर्णिम वाग्लेलाई उमेदवार बनाउने रास्वपाको तयारी !
१६ चैत काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले आसन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट तनहुँ क्षेत्र नम्बर–१ मा प्रतिस्पर्धा गर्ने चर्चा चलेको छ । रास्वपाले डा. वाग्लेसँग कुराकानी भइसकेको पुष्टि गरेको छ । डा. वाग्लेले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
“तनहुँ–१ मा चुनाव लड्ने विषयमा डा. स्वर्णिम वाग्लेसँग कुराकानी भएको छ,” रास्वपाका महामन्त्री डा. मुकुल ढकालले बाह्रखरीसँग भने, “निर्णय गर्न हाम्रो निश्चित प्रक्रिया छ । त्यसैले अहिले नै उहाँ उमेदवार हो वा होइन भनेर भन्न सकिँदैन ।”
डा. वाग्लेले निर्वाचनमा प्रतिस्पर्धा गर्ने इच्छा देखाएको कि तपाईंहरूको आग्रह स्वीकार गर्नुभएको भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन् । “अहिले हाम्रो कुराकानी भएको हो । हामीले निर्णय गरेपछि तपाईंहरूले औपचारिक रूपमा थाहा पाउनुहुनेछ,” महामन्त्री ढकालले भने, “अहिले नै ठोस जावाफ छैन ।”