प्रचण्डले मन्त्री बनाएकाहरू प्रति अध्यक्ष ओलीले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र १९ २०७९
3.4K
SHARES

१९ चैत काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’भन्नेहरू वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा ओलीले एमालेको पक्षमा छैनौँ भन्नेहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री बनाएको बताए ।

उनले भने, ‘आज राष्ट्रिय शक्ति निर्माण गर्ने एमालेको उद्देश्य, देशको निम्ति काम गर्ने एमालेको उद्देश्य, त्यस्तो पार्टीलाई राष्ट्रिय शक्ति बन्न नदिएर नेपाललाई छिन्नभिन्नको स्थितिमा अहिलेको हेर्नुस्त मन्त्री, ओ हो…हो । के का मन्त्री हुन्, कस्ता मन्त्री हुन् ? कस्तो गठबन्धन हो ? यस्ता कुराहरूबाट हामी देश बनाउन सक्दैनौँ,” उनले भने ।

उनले सत्तारूढ दलहरू ‘दशतिर फर्केका’ले उनीहरूबाट देश बन्नै नसक्ने पनि बताए । देश बनाउनका लागि एउटा नीति, एउटा विचार, एउटा संगठनले नेतृत्व गर्नुपर्ने उनको भनाइ छ । दश जनाले दशतिर तानेकाले देशको रथ कता जाने भन्ने प्रश्न वर्तमान सरकारमाथि रहेको ओलीले बताए ।

“एउटा नीतिमा देश चल्नुपर्छ, एउटा विचारमा देश चल्नुपर्छ । एउटा संगठनले नेतृत्व गर्नुपर्छ । दशतिर फर्केका छन् । उसले उता डोरी तान्छ, अर्कोले उता डोरी तान्छ । त्यस्ताले कहाँ पुर्‍याउँछन देश ? देशको रथ कता जाने । दश जनताले दशतिर तानेको छ । १० वटा पार्टीले दशतिर तानेको छ । के भन्छ ? बुझेको, सुझेको केही छैन । भवितव्यमा दुई वटा सिट आयो । एमालेका विरुद्ध बोले । मन्त्री भए । जान्नुतान्नु केही पनि पर्दैन । एमालेको पक्षमा म छैन । एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ । यस्तो ठाउँमा हामीले देश बनाउने अभिभारा बोकेका छौँ भने त्यो गम्भीरता हामीमा हुनु प‍र्‍यो,” उनले भने ।