प्रधानमन्त्रीले देश हितका पक्षमा चुइँक्क बोलेनन् – अध्यक्ष ओली
२७ जेठ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा देश हितका पक्षमा चुइँक्क पनि बोल्न नसकेको बताएका छन् । मित्रराष्ट्र भारतसँग आफ्नो देशको पीरमर्का समेत प्रधानमन्त्री प्रचण्डले राख्न नसकेको ओलीको आरोप छ ।
शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा उनले वर्तमान सरकारलाई नालायकको संज्ञा दिए । यो देशकै लागि दुर्भाग्य भएको उनले बताए । देशको दुर्दिन सुरु हुनु युक्रेन ‘वार’को कारणले हो ? भन्दै उनले सरकारमाथि कटाक्ष समेत गरे ।
उनले प्रधानमन्त्री प्रचण्डले फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माण कार्य भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको टिप्पणी गरे ।