एमाले मिसन २०८४ उद्देश्य अनुरूप अघि बढ्छ – महासचिव पोखरेल


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २८ २०८०
2.2K
SHARES

२८ जेठ काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले आउँदो २०८४ को संघीय चुनावमा एकल बहुमत ल्याउने गरी पार्टी अघि बढेको बताएका छन्। उनले मिसन २०८४ को उद्देश्य अनुरूप कुनै पार्टीसँग चुनावी तालमेल नगरी बहुमत ल्याउने अभियानमा पार्टीपंक्ति जुटेको बताए। महासचिव पोखरेलका अनुसार विभागीय कामका संयोजक र विभागका प्रमुखहरूको भर्खरै सम्पन्न बैठकले एक हप्ता भित्र जिम्मेवारी अनुसारको काम अघि बढाउने र असार मसान्तसम्म वार्षिक कार्ययोजना तयार गरी काम अघि बढाउने निर्णय गरेको छ। उनले भूगोलको कामलाई प्रभावकारी ढंगले सम्पादन गर्न प्रदेश इन्चार्जहरूले परामर्श बैठकहरू आयोजना गर्ने र काम अघि बढाउन पहल गरिरहेको पनि जानकारी दिएका छन्।

मिसन २०८४ उद्देश्य अनुरूप पार्टी निर्णय र निर्देशन अनुरूप जिम्मेवारीलाई सिर्जनात्मक र प्रभावकारी रूपमा सम्पादन गर्न आग्रह गरेका छन्। पोखरेलले भनेका छन्, ‘मिसन २०८४ उद्देश्य अनुरूप एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा सुदृढ गर्ने र कसैसँग तालमेल नगरी पार्टीको एकल बहुमत प्राप्त गर्ने योजना अनुरूप पार्टी अघि बढेको छ। एक वर्षका लागि तय गरिएको कार्ययोजना र कार्य विभाजनको विशेष अर्थ र महत्त्व रहेको छ। सम्पूर्ण कमरेडहरूलाई पार्टी निर्णय र निर्देशन अनुरूप जिम्मेवारीलाई सिर्जनात्मक र प्रभावकारी रूपमा सम्पादन गर्न अनुरोध छ।’