सिंहदरबार केन्द्रित गरेर बजेट आयो – सांसद शाही


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २८ २०८०
2.2K
SHARES

२८ जेठ काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सरकारले अघि सारेको नीति तथा कार्यक्रम र बजेटबीच तादात्म्य नमिलेको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले नीति तथा कार्यक्रम र बजेट बनाउँदा प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेट भएन कि कटाक्ष गरे।

‘बजेट र नीति तथा कार्यक्रम हेर्दा म्याच भएको मैले अनुभूति गरिनँ। सायद प्रधानमन्त्री र अर्थमन्त्री बीचको भेटघाट नभएको अनुभूति गरेको छु। नीति तथा कार्यक्रम एकातिर छ र बजेट अर्कोतिर भएको मैले यहाँ अनुभूति गरेको छु,’ उनले भने।

आगामी वर्षको बजेटले अहिलेको आर्थिक संकट चिर्न सक्नुपर्ने शाहीको भनाइ छ। तर, बजेट मन्त्री र ठूला नेता केन्द्रित भएर आएको आरोप लगाए। मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा अर्बौंका योजना लगेको र बजेट पास गर्नका लागि सांसदहरूलाई पाँच करोड छुट्याइएको उनको भनाइ थियो।

बजेटलाई अझै पनि सिंहदरबार केन्द्रित गरिएको सांसद शाहीको भनाइ थियो। ‘सिंहदरबारमा बस्नेहरूका लागि मात्रै बजेट केन्द्रित भयो भन्ने हिसाबले संघीयतामा प्रवेश गरेका थियौं। संघीय व्यवस्थामा आइपुग्दा पनि मन्त्री केन्द्रित बजेट हुने गरेको छ। यसले विकृति सिर्जना गरेको छ। यो कुरा तुरुन्त सच्याउन जरुरी छ,’ उनले भने।