बजेट नसच्याए सरकार दुर्घटनातिर जान्छ – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २८ २०८०
2.7K
SHARES

२८ जेठ काठमाडौं। सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बजेटमा देखिएका कमजोरीलाई सच्याउन आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकपछि आज सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले बजेट यथास्थितिमा पास भए सरकार दुर्घटनामा पर्न सक्ने जोखिम रहेको बताए।

उनले बजेटमा सबै जना असन्तुष्ट रहेको उल्लेख गरेका छन्। सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि बजेटको विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता हुनुपर्ने बताए। बजेटमा बेठिक भएको कुरालाई करेक्सन गर्न र सरकारलाई ढल्न नदिन आफ्नो पनि प्रयास रहने उनले बताए।

नेपालले भने, ‘बजेटप्रति साथीहरू सबै असन्तुष्ट नै हुनुहुन्छ। अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन। यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ कि जस्तो पनि लाग्छ। सरकार दुर्घटनामा जान्छ।

तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई करेक्सन गर्नुपर्छ। मेरो पनि प्रयास छ, सबैले लचकता देखाऔं। यो सरकार ढल्न दिनु हुँदैन, ५ वर्षसम्म यो गठबन्धन चल्छ।’

बजेटमा सत्तापक्षकै सांसदहरू असन्तुष्टि देखिएका छन्। बजेट तीन जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको आरोप सांसदहरूको छ। एकीकृत समाजवादीले बजेट यथास्थितिमा पास गर्न नहुने अडान लिइरहेको छ।