पूर्ण रूपमा निको भएर आएँ – उपमहासचिव पुन


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १ २०८०
1.4K
SHARES

१ असार काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले चीनबाट उपचार गरेर पूर्ण रूपमा निको भएर आएकोले अबका दिन सक्रिय भई काम गर्ने बताएका छन् । चीनबाट उपचार गरेर फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै पुनले चार महिनासम्म उपचारका लागि समय खर्चेको बताए ।

‘आज असार १ गते भयो । उपचार गर्न गएको चार महिना पुगेको छ । चार महिना उपचार गरेर पूर्ण रूपमा निको भएर आएको छु । उपचारमा सहयोग गर्नु हुने सबै मित्रहरूमा हार्दिक धन्यवाद छ’ पुनले भने, ‘सबैले देशको राजनीतिमा पार्टीको राजनीतिमा सक्रिय हुने शुभेच्छा व्यक्त गर्नु भएको छ । म पूर्ण रूपमा स्वास्थ्य भएर आएको हुनाले विगत जस्तै स्वाभाविक रूपमा पार्टीको काममा फर्किने छु ।’ जनयुद्ध हुँदै जनआन्दोलनसम्म उठाएका एजेन्डाहरू देश र जनताका स्वाधीनतामा केन्द्रित भई आफूलाई सक्रिय राख्ने पुनले बताए । स्वास्थ्य उपचार गर्न गएकोले राजनीतिका विषयमा धेरै अपडेट नभएको पुनले बताए ।