समाजवादी मोर्चा प्रति डा. भट्टराई आक्रोशित – सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का रहोस्
५ असार काठमाडौं। समाजवादी मोर्चा निर्माणका एक हिशाबले प्रस्तावक नै रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई नै यो मोर्चामा अटाएनन् । खास गरी उपेन्द्र यादवको असहमति पछि बाबुराम रोकिएको बुझिएको छ । हिजो मोर्चा घोषणा हुँदा बाबुराम भट्टराई र बामदेव गौतम गएनन् । त्यसपछि सामाजिक सञ्जालमा आक्रोश पोख्दै बाबुरामले यसलाई कथित समाजवादी मोर्चा भनेका छन् ।
उनले मोर्चालाई सत्ता स्वार्थको हतियार नबनाउन चेतावनी दिएका छन् । ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो’, डा। भट्टराईले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै लेखेका छन्, ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्। केहीलाई सधैँ र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का रहोस्।’
उता बामदेव गौतम शुरुमा मोर्चामा आउन तयार भए पनि एमालेले ७० वर्षे उमेर हद निलम्बन गरेपछि खुसी भएका थिए । तर पछि पार्टी एकीकरण गर्दा आफ्ना नेता कार्यकर्ताको व्यवस्थापनबारे शुरुवाती शर्त राखेपछि एमाले अध्यक्ष ओलीले अस्वीकार गरिदिएका थिए । त्यसपछि एमालेसँगको एकीकरणमा पनि गौतम समुहको ढिलाई भएको छ ।