प्रचण्ड दुई फाइल खोल्दै , देउवा र ओली सरकार ढाल्ने तयारीमा


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १० २०८०
17.7K
SHARES

१० असार काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहका मानिस धमाधम पक्राउ परिरहेका बेला सरकारले थप ठूला भ्रष्टाचार मुद्दामा छानबिन थाल्ने तयारी गरेको छ । पछिल्ला दशकमा भएका बाइडबडी खरिद, बालुवाटार जग्गा प्रकरण, ओम्नी काण्डका नाममा चर्चित कोराना महामारीका समयमा औषधि खरिदमा भएको घोटाला प्रकरण, सार्वजनिक जमिन भाडामा दिँदा भएका अनियमितताबारे छानबिनको तयारी भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार एवं माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले सबैखाले भ्रष्टाचारका फाइल खोलिने बताए ।

यतिखेर चर्चामा छ देउवा र ओली मिल्ने प्रचण्डलाई कुर्सीबाट हटाउने । शुक्रबार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सार्वजनिक रुपमै अभिव्यक्ति दिए ओली देउवासँग मिलेर कम्युनिष्ट सरकार ढाल्न खोज्दैछन् । दलाल पूजीवादी सरकार बनाउन खोज्दैछन् । एमाले नेताहरुले पटक पटक एमालेले चाहेमा एक सातामै सरकार ढाल्ने चेतावनी दिईरहेका छन् । एमाले सचेतक महेश बर्तौला प्रचण्ड सरकार हरेक एक दिनका लागि मात्रै भएको र कुनै पनि दिन एमालेले चाहेका बखत ढाल्न सक्ने बताउने गरेका छन् । देउवा पेटको उपचार गर्ने नाममा सिंहापुृरमा भएकै बेला नेपालमा सरकार परिवर्तनको कुरा बढी उठ्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यद्यपि नककली भुटानी शरणार्थीसम्बन्धी राज्यविरुद्धको अपराधसम्बन्धी विषयको छानबिन निस्कर्षमा पुगेपछि अरु विषयमा प्रवेश गरिने उनको भनाइ थियो । ‘अहिले नीति कार्यक्रम र बजेटको तयारीमा छौं । नक्कली भुटानी शरणार्थीबारेको अनुसन्धान सकिएर दोषीमाथि मुद्धा अघि बढेपछि अरु फाइल पनि खोलिनेछ’, उनले हामीसॅंग भने । केही दिनयता राजधानीसहित देशका विभिन्न स्थानमा सरकारको समर्थनमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनमा सहभागी नागरिकले भ्रष्टाचारका अरु फाइल पनि खोल्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

स्रोतका अनुसार पुष १० मा देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन मानेका थिएनन् । त्यसको मुख्य कारण केपी ओलीले बालुवाटारमा पठाएको सन्देश थियो । देउवालाई तपाई नै अबको प्रधानमन्त्री भन्ने सन्देश सहित ओलीले सहमति पत्र बनाएर आफूले हस्ताक्षर गरेर नै बालुवाटारमा पठाएका थिए । त्यसो भएपछि देउवा प्रचण्डलाई एमालेले समर्थन दिन नसक्ने र ठूलो दलको हैसियतमा आफु प्रधानमन्त्री निरन्तर हुने बुझाई सहित देउवा बालुवाटारमा बसिरहे ।

बालुवाटारबाट प्रचण्ड जब बालकोट पुगे भन्ने सन्देश देउवाले पाए त्यसपछि झस्किएर उनले प्रचण्डलाई प्रधानमन्त्री बन्नुस् , लौ फर्किएर आउनुस् भन्दै फोन गरेका थिए । त्यतिखेर सम्म प्रचण्डले अब ढिला भईसक्यो भन्ने जवाफ दिएका थिए ।
त्यसपछि देउवाले माधव कुमार नेपाललाई पटक पटक फोन गरेका थिए । स्रोतका अनुसार माधव नेपालले देउवाको फोन उठाएनन् । अनि अन्य नेता मार्फत नेपाल निकट नेता राजेन्द्र पाण्डे र उपेन्द्र यादवलाई देउवाले बालुवाटारमा बोलाएका थिए । उनीहरुसँग ओलीले धोका दिएको भन्दै अब के गर्ने ? भनेर सोधेका थिए । त्यही बेला पाण्डे सहितका नेताले अब गल्ती भयो, प्रचण्डलाई विस्वासको मत दिएर गठबन्धनमा फर्काउन सुझाव बालुवाटारमा भेला भएाक नेताहरुले दिएको उच्च स्रोतको दावी छ । त्यसै अनुसार देउवाले प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिलाएका थिए । फलस्वरुप नेपालको संसदीय ईतिहासमा सबै भन्दा धेरै विस्वासको मत करी ९९.२५ प्रतिशत सांसदले प्रचण्डलाई समर्थन दिए ।

ओलीसँगको सम्झौता अनुसार सभामुख एमालेको हातमा थमाईएको थियो । राष्ट्रपति पनि एमालेलाई दिने सहमति थियो । तर काँग्रेसले समेत विस्वासको मत दिएको अवस्थामा राष्ट्रपतिमा तठस्थ व्यक्ति वा काँग्रेसलाई दिन प्रचण्डले जोड गरे । तर एमालेले नमानेपछि फेरी गठबन्धन टुट्यो र प्रचण्डले रामचन्द्र पौडेललाई राष्ट्रपति बनाईदिए । अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्ड सरकारले एमाले र काँग्रेसका हाईप्रोफाईल नेताहरुलाई जेल हालेको छ । संभवतः नेपालको ईतिहासमै भ्रष्टाचार बिरुद्धको सबै भन्दा ठूलो कार्बाही हो यो । ओली टोप बहादुर रायमाझीमाथि मुद्धा चलाएकामा असन्तुष्ट छन् भने देउवा बालकृष्ण खाँडमाथि मुद्धा चलाएकामा ।

यो कार्बाहीप्रति जनताले सरकारलाई साथ दिएको अवस्थामा काँग्रेस एमाले सरकार ढालिहाल्ने मुडमा थिएनन् । तर विस्तारै शरणार्थी प्रकरण सेलाउदै गएको छ । गंभीर आर्थिक संकटमा बीच अर्थतन्त्रमा केही सुधारका संकेतहरु देखा परेका छन् । अहिले निर्यातमा केही बृद्धि, बैदेशिक सञ्चितिमा बृद्धि देखिदै गएको छ । भुक्तानी सन्तुलनमा पनि सहज हुँदै गएको छ ।

यो सरकार ढाल्न ओलीले रवि लामिछानेलाई पनि प्रधानमन्त्रीको अफर गरेको चर्चा थियो । त्यही अफरको लोभमा लामिछानेले हतार हतार सरकारलाई दिएको समर्थन फिर्ता लियो । लामिछाने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाईसँग काठमाण्डौँमा भेटेपछि सुटुक्क भारत पुगेका थिए । अहिले सरकार ढले पनि राम्रो काम गर्ने, भ्रष्टाचार बिरुद्ध ठूला फाईलहरु खोल्ने नीतिमा प्रचण्ड छन् । सरकार ढल्छ कि भन्ने सुईको पाएर नै प्रचण्डले समाजवादी मोर्चा गठन गरेको अनुमान पनि छ ।

जे भए पनि सरकार बनेको सात महिनामै ढाल्न खोजियो भने यो व्यवस्थाका लागि अर्को दुर्भाग्य हुनेछ । त्यसले राजनीतिक अस्थीरता र सत्ता स्वार्थको असर जनतामा पर्ने निश्चित छ । गठबन्धनको समझदारी अनुसार अब करीब डेढ वर्षपछि स्वतः काँग्रेसको हातमा सत्ता आउनेछ । अहिले नै ओलीको प्रस्तावमा मिसिएर देउवाले गल्ती गरे काँग्रेसका लागि झन् ठूलो भारी पर्न सक्ने काँग्रेस भित्रकै नेताहरुले अनुमान गर्न थालेका छन् ।