सत्ता सहकार्य अघि बढ्न नसक्ने – राजेन्द्र राईको


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २४ २०८०
2.5K
SHARES

संवैधानिक प्रश्न उठिरहेको समयमा सरकारले पूर्णता नपाउँदै कोशी प्रदेशमा सत्तारुढ गठबन्धन दलहरुबीच विवाद सुरु भएको छ। सरकारले पूर्णता नपाउँदै सत्ता गठबन्धनमा विवाद देखिएको हो। पूर्वसहमतिअनुसार मन्त्रिपरिषद् विस्तार नगरिएको भन्दै सत्तारुढ दलहरुबीच किचलो सुरु भएको हो।

असार १९ मा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका उद्धव थापाले पूर्वसहमति तोडेको भन्दै नेकपा एकीकृत समाजवादी पार्टीले आपत्ति जनाएको हो। असार १९ मा २ र आइतबार थप तीन मन्त्री थप्दा विगतको सहमति पालनाबाट मुख्यमन्त्री थापा चुकेको आरोप पूर्वमुख्यमन्त्री राजेन्द्र राईले बताए। सबै दलबाट एक-एक जनामात्रै मन्त्री बनाउने सहमति पालना नगरिएपछि समाजवादी संसदीय दलका नेता राईले आक्रोश व्यक्त गरेका छन्।

‘हामीले सबै दलबाट एक-एक जना मात्रै मन्त्री बनाउने सहमति गरेका थियौँ’, उनले भने, ‘तर त्यो सहमति तोडेर मुख्यमन्त्री थापाले एकै दलबाट दुईभन्दा धेरै मन्त्री नियुक्त गर्नुभयो। यो सहमति विपरीत भएकाले हामीले आपत्ति जनाएका छौँ।’

राईले मुख्यमन्त्री थापाले सहमति पालना नगरे सत्ता सहकार्य अघि बढ्न नसक्ने चेतावनी पनि दिए। ‘मुख्यमन्त्रीले यसै गरिरहेमा हाम्रो सहकार्य अघि बढ्न सक्दैन, विश्वासको मत पनि दिदैनौँ’, राईले भने। राईले आइतबार भएको तीन मन्त्रीको शपथ ग्रहण कार्यक्रम पनि बहिष्कार गरे। आइतबार नेकपा माओवादी केन्द्रबाट जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बनेका छन्। कांग्रेसबाट रामकुमार खत्री पनि मन्त्री बनेका छन्।

आइतबार मन्त्री बनेका आचार्य माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुन्। यसअघि उनी हिक्मत कार्की नेतृत्वको सरकारमा पर्यटनमन्त्री थिए। उक्त सरकारमै रहेका अर्का मन्त्री दुर्गा चापागाईंले भने यस पटक अवसर पाएनन्। शुक्रबार मुख्यमन्त्रीको शपथ लिएर थापाले कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जगेबुलाई विनाविभागीय मन्त्री बनाएका थिए।