प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउने, एमालेले सदन अवरोध खोल्ने
२४ असार काठमाडौं । संघीय संसद्का दुवै सदनमा प्रतिपक्षीको अवरोध जारी रहेका बेला आइतबार बिहान तीन दलका शीर्ष नेताहरूबीचको संवाद सकिएको छ। करिब डेढ घण्टा चलेको संवादपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले संसद्को गतिरोध हटाउन तयार भएको छ। आइतबार बिहान सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन शीर्ष नेताहरूबीच भएको वार्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असार १८ गते दिएको आफ्नो अभिव्यक्ति सच्याउन तयार भएका हुन्।
उक्त वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए।
त्यसक्रमा एमाले अध्यक्ष ओलीले दिल्लीले आफूलाई प्रधानमन्त्री बनाइदिएको आशयसहितको प्रचण्डको असार १८ गतेको अभिव्यक्तिलाई लिएर माफी माग्नुपर्ने अडान लिएका थिए। प्रचण्डले उक्त वार्तामा आफ्नो उक्त विवादित अभिव्यक्तिबारे संसद्मा प्रष्टीकरण दिने बताएपछि एमाले संसद् खुलाउन तयार भएको हो।