म ५ हजार फिट माथिको हेलिकप्टरबाट झर्दा बाँच्छु जस्तो लागेको थिएन – अध्यक्ष ओली
३१ असार काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत एक अन्तर्वार्तामा आफू ५ हजार फिट माथि हेलिकप्टरबाट झरेको बताएपछि धेरैले ‘हावा गफ’ गरेको भन्दै धेरैले उडाए। उक्त अभिव्यक्ति धेरैले नपत्याए पनि ओलीले भने पुन: सोही अभिव्यक्ति दोहोर्याएका छन्। २०५२ सालमा हेलिकप्टर दुर्घटनामा परेको उनले बताएका थिए।
सञ्जालमा आइतबार उक्त अनुभव सेयर गर्दै उनले भनेका छन्, ‘पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै लागेको थिएन। झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरेँ। आश्चर्य लाग्यो। म घाइते थिएँ तर जिउँदो थिएँ।’ उनले मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भएको उनले बताएका छन्। अगाडि उनले भनेका छन्, ‘सफलताको अनुभूति गरेँ । बाँच्नु आफैँमा एउटा सफलता हो। मृत्युका मुखमा पुगेर बाँच्नु मेरा लागि अझ ठूलो सफलताको विषय बन्न पुग्यो।’