गृहमन्त्री श्रेष्ठलाई हटाउन भ्रष्टहरू एकजुट !
३ साउन काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयभित्र र बाहिर हरेक मोर्चामा बताउने गरेका छन्– भ्रष्टाचारविरुद्धको अभियान रोकिने छैन । उनी कम्तीमा आफ्नो कार्यकालमा सुुशासनको सन्देश दिन चाहन्छन् । सरकारमा हुँदा भ्रष्टाचार र अनियमितताका घटनालाई उधिन्ने र गृहको क्षेत्राधिकारभित्र रहेर कारबाहीको दायरामा ल्याउने विशेष प्रयासमा रहेका छन् । त्यसैकारण नक्कली भुटानी शरणार्थी प्रकरणमा गृहमन्त्री श्रेष्ठ निडर र साहसी बनेर उच्च तहका राजनीतिक व्यक्तित्व निशानामा पर्दा पनि छानबिनलाई रोकेनन् ।
गोप्य तवरले नै राजनीतिक व्यक्तिलाई पक्राउ गर्न प्रहरीलाई सहजीकरण गरिदिए । राजनीतिक दबाबविना प्रहरीले काम गर्न पाइरहेकोले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनपेक्षित सफलता हात पारेको छ र धेरैले अनुमान गरेको भन्दा पनि धेरै हाईहाई पाइरहेका कारण गृह मन्त्री श्रेष्ठप्रति असन्तुष्ट भ्रष्टहरु एकजुट भएर सत्ता गठबन्धनभित्रैबाट हटाउने विशेष अभियान सुरु भएको खबर छ । स्रोतहरुका अनुसार, यो अभियानमा कांग्रेसको साथै माओवादीभित्रै एउटा समूह सक्रिय रहेको स्रँेत् बताउछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेताहरु मुछिएपछि उपप्रधान मन्त्री तथा गृहमन्त्री श्रेष्ठले सत्ता गठबन्धनमा रहेको दलका वरिष्ठ नेताहरु भएकोले जोगाउन सक्ने अनुमान थियो ।
उनले राजनीतिक संरक्षण नगरी प्रहरीलाई स्वतन्त्र रुपमा काम गर्न दिएपछि कांग्रेसका प्रभावशाली नेता वालकृष्ण खाणलगायत शक्ति केन्द्रको आडमा अकुत सम्पत्ति आर्जन गर्ने पथमा लागेका भ्रष्ट सचिवहरु समेत समातिए अनि कांग्रेस सभापति पत्नी आरजु देउवा राणा पनि प्रकरणमा मुछिइन् । आरजुको राजनीतिक र सामाजिक दुवै छवि एकसाथ धुमिल भईदियो । उनीमाथि गम्भीर आरोपहरु लाग्न थालेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता नरहेको आरजुले दावी गरेपनि पक्राउ परेकाहरुले उनको नाम लिएका छन् र उक्त नाम लिएको अडियो सही रहेको प्रहरीको अनुसन्धानले प्रष्ट पारेको छ । त्यसले गर्दा प्रभावशाली राजनीतिक व्यक्तिहरु मुछिएको यो काण्डले गृहमन्त्री श्रेष्ठमाथि स्वभाविक दवाव परिरहेको छ । अर्कातिर नारायणकाजी श्रेष्ठकै बलमा ललिता निवास प्रकरण फेरि छानबिनका साथै अगाडि बढेको छ । किर्ते अभियोगमा यो प्रकरण पुनः उधिन्निएपछि परिस्थितिले अर्कै मोड लिएको छ । बहालवाला सचिव नै पक्राउ परेपछि सत्ता गठबन्धनमा हलचल हुनु अस्वभाविक होइन् ।
यो प्रकरणमा नेपालका बलियो भनिएका भ्रष्ट विचौलियाको समूह पनि मुछिएको छ । विभिन्न व्यापारीहरु तानिएका छन् । बैंकहरु तानिएका छन् । नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणले देशमा भ्रष्टाचार कुन हदसम्म मौलाएको र को को संलग्न रहेछन् भन्ने चित्र देखाएको अवस्था छ । त्यसैले, अहिले यी भ्रष्टचारका घटनाहरुमा मुछिएका र अन्य यस्तै प्रकरणमा मुछिन सक्ने आंकलन भएका व्यक्तिहरु गृहमन्त्री श्रेष्ठलाई हटाउन सक्रिय भएको स्रोत बताउछ ।
स्रोतहरुका अनुसार, श्रेष्ठलाई हटाउन अहिले कांग्रेसकै सभापति शेर वहादुर देउवा, आरजु देउवाको समूह सक्रिय भएको छ । यो समूहलाई साथ दिन प्रकाशशरण महत र बालकृष्ण खाण समूहका नेताहरु सक्रिय रहेको बताइन्छ । यो समूहलाई साथ दिनेमा माओवादी नेताहरु जनार्दन शर्माहरुको टोली पनि विशेष रुपले सक्रिय रहेको स्रँेत बताउछ । माओवादीभित्र युद्ध लडेका नेताहरु नै पहिला श्रेष्ठलाई अस्वीकार गर्दथे । गृहमन्त्री भएपछि श्रेष्ठले गरेको कामका कारणले माओवादीभित्र नारायणकाजी श्रेष्ठलई प्रचण्डको उत्तराधिकारीको रुपमा व्याख्या गर्न थालिएको छ । त्यसले गर्दा माओवादीभित्र भ्रष्टाचार विरोधी गृह मन्त्री श्रेष्ठलाई जसरी पनि हटाउनुपर्ने मतहरु देखा पर्न थालेका छन् । पूर्व अर्थ मन्त्री शर्मा त विभिन्न काण्डमा मुछिएका कारणले पनि आरजुको समूहमा सक्रिय भएर हटाउने खेलमा लागेको माओवादी स्रोत बताउछ ।
यता, व्यापारीहरुको समूह पनि सक्रिय भएको छ । भाटभटेनीका साहुजी जो ललिता निवास प्रकरणमा पक्राउ परेका मुख्य पात्र हुन्–मीनबहादुर गुरुङहरुको पक्षमा रहेका विभिन्न व्यापारीदेखि विचौलियाहरु प्रधानमन्त्री प्रचण्डलाई सन्देश पु¥याएर गृह मन्त्री श्रेष्ठ हटाउने अभियानमा लागेको स्रोतको दावी छ । गृह मन्त्री श्रेष्ठलाई हटाउन थैली संकलन गर्न व्यापारीहरु गुहारेको रिपोर्ट समेत गृह मन्त्री समक्ष पुगेको स्रोत बताउछ । कांग्रेसको एउटा समूह, विचौलिया र कर्मचारीहरुको भ्रष्ट समूहले समेत गृह मन्त्रीलाई जेजसरी र जुनसुकै मूल्यमा भएपनि हटाउनै पर्ने गुप्त अभियान थालेको स्रँेत बताउछ । राजनीति आवरणको भ्रष्ट समूहले भने सत्ता ढल्नेसक्ने त्रास देखाएर गृह मन्त्री श्रेष्ठलाई गृह मन्त्रालयबाट हटाउन चलखेल गरिरहेको स्रोतहरुको बताउछ । दीपक मल्होत्राको समूहमा पनि श्रेष्ठको विकल्प खोज्नुपर्ने सन्देशसहित बालुवाटार धाउन थालेको अखबर छ । विचौलिया मल्होत्रा कुनै बेला तत्कालीन गृह मन्त्रीहरु वामदेव गौतम र खुम वहादुर खड्काको आडमा सुन तस्करीमा जोडिएका थिए ।
विचौलिया र राजनीतिक समूहमात्र होइन, नारायणकाजी श्रेष्ठलाई गृहबाट हटाउन भ्रष्ट कर्मचारी पनि सक्रिय हुन थालेका छन् । कर्मचारीको मनोबल गिरेको भन्दै भ्रष्ट कर्मचारीको समूहले लविङ पनि गरिरहेको छ । मुख्यगरी सचिव कृष्णबहादुर राउत पक्राउ उदाहरण देखाएर भ्रष्ट कर्मचारी संगठित हुन थालेका हुन् । सचिवहरुले त एकगठ भनेर मुख्यसचिवलाई भेट्न पनि गएका थिए । त्यसरी भेटेपछि कर्मचारी प्रशासन बद्नाम भएको र काम गर्ने वातावरण नभएको बताइरहेका छन् । यसरी गृहमन्त्री श्रेष्ठ चौतर्फी घेराबन्दीबाट गृह प्रशासन चलाइरहेको देखिन्छ । भ्रष्टहरुको मुटुमा ढ्यांग्रो ठोक्न थालेपछि श्रेष्ठलाई घेराबन्दी गर्न थालिएपनि आमनागरिकले भने उनको सरुवा वा बर्खास्तीले सरकार र माओवादी पार्टीको राजनीतिक भविष्यमाथि प्रश्न उठाउने भएकोले प्रधानमन्त्री प्रचण्ड त्यो मनस्थितिमा नपुगेको बताइन्छ । तर, भ्रष्ट कर्मचारी, नेता र विचौलिया भने निरन्तर प्रधानमन्त्री कार्यालयमा सन्देश पु¥याएर श्रेष्ठविरुद्ध कान फुुकिरहेको स्रोत बताउछ । – साँघु साप्ताहिकबाट