एमालेको निर्णय : गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १० २०८०
6.2K
SHARES

१० साउन काठमाडौ । नेकपा (एमाले)ले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने बताएको छ। बुधबार नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न नदिने निर्णय गरेको हो।

‘गृहमन्त्री संलग्नताबिना त्यत्रो तस्करी हुन सम्भव छैन। यसमा छानबिन हुनुपर्छ। गृहमन्त्री पदमा बस्न योग्य हुनुहुन्न। त्यो नहुँदासम्म संसद सुचारू हुन सक्दैन,’ दलको निर्णय सुनाउँदै प्रमुख सचेतक पदम गिरीले भने।

सोमबार राति कम्बोडियाबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री श्रेष्ठको आलोचना गरेका थिए।  सुन काण्डमा गृहमन्त्रीले आफ्नो संलग्नता रहे, नरहेको प्रष्ट पार्नुपर्ने भन्दै एमालेले त्यत्तिकै नछाड्ने बताएका थिए।