छोरी र भतिजालाई लुटको आतंक मच्चाउन सचिवालयमा राखेका छन् – नेता पन्त
१७ साउन काठमाडौ । माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको डेढ वर्षपछि राजधानीमा यो बैठक बसेको हो । प्रचण्डले पेस गरेको मौखिक प्रतिवेदनमाथि सहभागीले बोल्ने क्रम बुधबारदेखि नै सुरु भएको छ । सबैलाई बोल्न दिने र बोल्ने हरेक एक जनालाई पाँच मिनेटको समय छुट्याएको हुँदा ढिलो गरी सुरु भएको बैठकमा पहिलो दिनै १८ जनाले धारणा राख्ने अवसर पाएका छन् । सहभागीमध्ये ७४ जनाले नाम टिपाएका थिए ।
बैठकको पहिलो दिन बोल्नेमध्ये केही असाध्यै आलोचनात्मक ढंगले प्रस्तुत भएका छन् भने केहीले प्रतिवेदनको प्रशंसा पनि गरेका छन् ।
प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्तले माओवादी रुपान्तरण हुनुभन्दा पहिला अध्यक्ष प्रचण्ड आफैं रुपान्तरण हुनुपर्ने र परिवारवादबाट बाहिर आउनुपर्ने बताए ।
‘अध्यक्ष आफैं रुपान्तरण नभई माओवादी पार्टी बन्दैन । अध्यक्ष र वरिष्ठ उपाध्यक्षले आफ्ना छोरी र भतिजालाई लुटको आतंक मच्चाउन र लेनदेनको हिसाब मिलाउनका लागि सचिवालयमा राखेका छन्’ उनले प्रश्न गरे, ‘यस्तो होइन भने माओवादीमा धेरै नेता कार्यकर्ता छन । किन प्रमुख स्वकीय सचिव बनाउनु हुन्न ?’ उनले नेतृत्व नसच्चिएसम्म विधान महाधिवेशन र विशेष महाधिवेशनले गरेर मात्रै कुनै फरक नपर्ने बताए ।