माओवादीको ओरालो यात्रा फेदीमा नपुगुञ्जेल रोकिँदैन – नेता न्यौपाने


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १८ २०८०
3.4K
SHARES

१८ साउन काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले माओवादीमा विचार र व्यवहारबीच तालमेल नमिल्दा पार्टी ओरालो लागेको टिप्पणी गरेका छन् ।

‘कम्युनिष्टहरूको विचार व्यवहारमा अभिव्यक्त हुने र व्यवहार विचारलाई थप विकसित गर्ने साइकल हो । तर माओवादीमा यो साइकल भताभुङ्ग लथालिङ्ग छ । नत हाम्रा व्यवहारले विचार थप विकास हुने ठाउँ देखिन्छ,’ न्योपानेले भने, ‘विचारअनुसारको व्यवहारा नहुँदा धेरै अन्यौलता आएको छ । माओवाद जुन उद्देश्यका निम्ती बनेको सिद्धान्त हो त्यसको प्रयोग हामीले गलत ठाउँमा गरिरहेका छौँ ।’

माओवादलाई संसदीय राजनीतिमा प्रयोग गर्नु नै गलत भएको न्यौपानेको भनाइ छ । ‘संसारमा माओवादी सिद्धान्त र संसदीय राजनीतिक प्रणाली एकै ठाउँमा कहीँ पनि छैन । अहिले हामी माओवादलाई संसदीय राजनीतिमा प्रयोग गरिरहेका छौँ,’ न्यौपानेले भने ।

विश्वको कम्युनिष्ट आन्दोलन एउटा उचाइमा पुगेर ओरालो लागेपछि बीचमा रोकिएर पुनः उकालो लागेको र सफलता पाएको एउटा पनि उदाहरण नरहेको न्यौपानेले बताए । माओवादी पनि त्यस्तै ओ‌रालो यात्रामा रहेको न्यौपानेको भनाइ छ ।

‘माओवादीको ओरालो यात्रा फेदीमा नपुगुञ्जेल रोकिँदैन । यसलाई रोक्ने न वैचारिक निकास छ न त व्यावहारिक कोसिस भएको छ,’ उनले भने, ‘ओरालो यात्रा तीव्र गतिमा जारी छ ।’ न्यौपानेले विश्वमै बदनाम भएको राजनीतिक लाइनमा माओवादी रहेको टिप्पणी पनि गरे ।