गाउँ फर्कने, पार्टी बनाउने : माओवादी बैठकको निचोड
२१ साउन काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) पार्टी निर्माणका लागि गाउँ पस्ने भएको छ । साउन १७ गतेदेखि पाँच दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको छ ।
‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ नाम दिइएको अभियान १६ भदौबाट सुरु गर्ने निर्णय भएको छ । केन्द्रीय समिति बैठकको सुरुवातमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पार्टीजस्तो नभएको भन्दै पुनर्निर्माण गरिने बताएका थिए ।
यस अभियानमार्फत जनताको घरघरमा पुग्ने तयारी माओवादीको छ । बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले अभियानका क्रममा प्रत्येक घरमा जान निर्देशन दिए । आफू पनि सातै प्रदेशका वडामा पुग्ने बताए ।
वडा केन्द्रित भएर जनअभियान चलाउने निष्कर्षमा पुगेका छौँ । एउटा पनि घर नछोड्ने,” प्रचण्डले भने, “माओवादीका शुभेच्छुक शुभचिन्तकको मात्रै होइन, कुनै पनि राजनीतिक आस्थासँग सम्बन्धित भए पनि सुशासन, सामाजिक न्याय र समृद्धिमा हामीले गरेको पहलमा हामीले आउने दिनमा कसरी राष्ट्रिय एकता, स्वाधीनतलाई सुदृढ गर्ने, सामाजिक न्याय र समृद्धिलाई अघि बढ्न हाम्रा योजना राख्ने । जनताको आलोचना र गुनासा सुन्ने ।”
उनले बेपत्ता घाइतेका सबै परिवारसमक्ष पुग्न पनि आग्रह गरे ।
केन्द्रीय सदस्य तथा सांसद माधव सापकोटा बैठकबाट जनतामा भन्दा पार्टी नेता र कार्यकर्तामा समस्या रहेको निष्कर्ष निकालिएको बताउँछन् । त्यसैले जनतामा जाने निष्कर्षमा पुगेको उनको भनाइ छ ।
“हाम्रो पार्टी पंक्तिको कार्यशैली र रूपान्तरणको प्रश्न ज्यादा हो । जनातामा कम समस्या छ । नेता कार्यकर्तामा बढी समस्या हो भन्नेमा हाम्रो समान धारणा भयो,” उनी भन्छन्, “अध्यक्ष प्रचण्डले पनि सातै प्रदेशको वडामा जाने भन्नुभएको छ । तल फर्कने कुरा भएको छ । गरिएका निर्णय कार्यान्वयन हुँदा पार्टी बन्छ ।”
माओवादीका सांसद् तथा केन्द्रीय सदस्य लेखनाथ दाहाल ‘राजन’ आफ्ना कमजोरीको निर्मम समीक्षा गरेर पार्टी पुनर्निर्माणमा जान लागिएको बताउँछन् ।