एमालेमा विद्या भण्डारी देखाएर समस्या ल्याउने प्रयास हुँदै छ – अध्यक्ष ओली
२८ साउन काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र समस्या ल्याउन सकिन्छ कि भनेर कोसिस भइरहेको टिप्पणी गरेका छन् ।पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा ल्याउने प्रयास भइरहेकोबारे सञ्चारकर्मीको जिज्ञासामा त्यस्तो बताएका हुन् । उनले भण्डारी पार्टीका सबै नेताहरुको आदरणीय व्यक्तित्व भएको समेत बताए ।
“पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरुको राष्ट्रपति भएर एउटा आदरणीय व्यक्तित्व पनि हुनुहुन्छ । त्योभन्दा अघि हाम्रो नजिकको मित्र हो नि,” ओलीले भने, “हाम्रो पार्टीको उपाध्यक्ष नै हो नि । हाम्रो पार्टीको आदरणीय व्यक्ति नै हो नि ।”पार्टीका नेताहरुले भण्डारीलाई भेट्नु नौलो कुरा नभएको ओलीको भनाइ छ । उनले भेटेका कुरालाई मलजल नगर्न आग्रह समेत गरे ।
“हामीमध्ये कसैले भेट्नु ठूलो कुरा होइन । विष्णु पौडेलजीले मात्रै होइन । मैले पनि कुरा गरेको छु । अरुले पनि कुरा गर्नुभएको छ,” ओलीले भने, “कुरा गरेको विषयलाई कार्ड नै छपाएर लैजानुभयो होला त । पार्टीमा आइदिनुपर्यो भनेर निम्ता गर्न । यो खालका प्रयासहरुलाई साथीहरुले मलजल कहिलेकाहीँ नबुझी गरिन्छ । त्यो नगर्दा राम्रो हुन्छ ।”