बैंकबाट बिनाधितो ५ प्रतिशत ब्याजमा स्नातक तह पढ्न ऋण
७ भदौ काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशनसँगै नेपालमा सञ्चालित विश्वविद्यालयहरुले स्नातक तहको भर्ना प्रकृया अगाडि बढाएका छन् । सामान्यतया कक्षा १२ पछि विश्वविद्यालय तहमा के पढ्ने र कहाँ पढ्ने भन्ने विषयमा विद्यार्थीहरुले धारणा तयार गरिसकेका हुन्छन् । आर्थिक अवस्थाको कारणले कक्षा १२ उत्तिर्ण गरेपछि कतिपय विद्यार्थीले पढाइ नै छाडेर अन्य पेसा रोज्ने गर्छन् भने कतिपयले आर्थिक कारणले रोजेको विषय पढ्न पाउँदैनन् ।
तर, सरकारले उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि लक्षित समूहका विद्यार्थीलाई सहुलियत कर्जा दिने व्यवस्था गरेको छ । आर्थिक अवस्था कमजोर भएकै कारण अध्ययनलाई निरन्तरता दिन नसकेका विद्यार्थीले सो सहुलियत ऋणको सहयोग लिन सक्छन् ।
कति ऋण पाउन सकिन्छ ?
नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ मा ‘उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा’ सम्बन्धी व्यवस्था गरेको छ । सो कार्यविधि अनुसार विद्यार्थीहरुले बैंकबाट उच्च शिक्षा अध्ययनको लागि पाँच लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्छन् ।
विशेषगरी काठमाडौंमा रहेका कतिपय प्राविधिक निजी कलेजहरुले केही बैंकहरुसँग सम्झौता गरेर आफ्ना विद्यार्थीहरुलाई सो सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सहजिकरण पनि गरेका छन् । कार्यविधिअनुसार सो ऋण देशभित्रको उच्च शिक्षामा अध्ययन गर्ने लक्षित क्षेत्रको विद्यार्थी सबैले प्राप्त गर्न सक्छन् ।
कति लाग्छ ब्याज ?
कार्यविधिमा विद्यार्थीले बैंकबाट लिने ‘उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा’मा कति ब्याज लाग्ने भन्ने विषयमा स्पष्ट व्यवस्था गरिएको छ । कार्यविधिको परिच्छेद २, (५) मा सरकारले ब्याज अनुदान उपलब्ध गराउने कर्जामा बैंकले आफ्नो आधार दरमा दुई प्रतिशत बिन्दु भन्दा बढी नहुनेगरी ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, सो ऋण उपलब्ध गराउँदा बैंकले बीमा प्रिमियम बापत र कर्जा सुरक्षण शुल्क बापत केही शुल्क लिन सक्छन् ।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलका अनुसार बैंकबाट ‘उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा’ मा बैंकको आधारदरमा दुई प्रतिशत बैंकले ब्याजदर थप्दा हुन आउने अंकमा नेपाल सरकारले उपलब्ध गराउने पाँच प्रतिशत घटाएर हुन आउने ब्याजदर लागु हुन्छ ।
उदाहरणका लागि साउन महिनामा राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ८.०२ रहेको थियो । सो बैंकले प्रदान गर्ने सहुलियतपूर्ण शैक्षिक कर्जामा आधार दर ८.०२ प्रतिशतमा २ प्रतिशत थप गर्दा १०.०२ प्रतिशत हुन जान्छ । सो ब्याजमा नेपाल सरकारले उपलब्ध गराउने ५ प्रतिशत ब्याज अनुदान घटाउँदा जम्मा ब्याजदर ५.०२ प्रतिशत हुन आउँछ ।