टिकटक वार : अमेरिकाले विधेयक पारित गर्दा चीनको चेतावनी
२ चैत एजेन्सी । सन् २०२३ मा १४.३ अर्ब अमेरिकी डलर (१८ खर्ब ८७ अर्ब ६० करोड रुपैयाँ) आम्दानी गरेको भिडियो शेयरिङ चिनियाँ एप टिकटकलाई लिएर अमेरिका र चीनबीच तनाव थपिएको छ। अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले बुधबार ‘टिकटकले उसको चिनियाँ मूल कम्पनीसँग सम्बन्ध विच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने’ विधेयक पारित गरेको थियो।
लगत्तै बिहीबार चीनले अमेरिकालाई अन्य देशका कम्पनीहरूको अनुचित दमन रोक्न भनेको हो। अमेरिकाले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तलाई इमान्दारीपूर्वक सम्मान गर्नुपर्ने र सबै देशका उद्यमहरूलाई खुला, निष्पक्ष, न्यायपूर्ण र भेदभावरहित तरिकाले विकसित हुने वातावरण उपलब्ध गराउनुपर्ने चिनियाँ पक्षको तर्क छ।
अमेरिकामा १७ करोड मानिसले टिकटक प्रयोग गर्छन्। अमेरिकाले नयाँ विधेयक पारित गरेसँगै अब टिकटकको मूल कम्पनी बाइटडान्सले १८० दिनभित्र एप बिक्री गर्न वा अमेरिकामा एप्पल र गुगल एप स्टोरबाट प्रतिबन्धित बन्नुपर्नेछ।
चिनियाँ एप टिकटकका लागि यो कानुनले ठूलो धक्का दिने विश्लेषकहरूले बताएका छन्। टिकटकले विश्वभर लोकप्रियतामा वृद्धि गरेको छ, तर यसको चिनियाँ स्वामित्व र बेइजिङमा कम्युनिस्ट पार्टीको सम्भावित अधीनले विश्वसामू चिन्ता पैदा गरेको छ।
टिकटकका विषयमा राजनीतिक रूपमा विभाजित वासिङ्टनमा एकताको दुर्लभ क्षण सिर्जना भएको छ। सांसदहरूले प्रस्तावित कानूनको पक्षमा ३५२ र विपक्षमा ६५ मत दिएका छन्। चीनले चाहिँ ‘सम्बन्धित पक्षहरूले चिनियाँ कानून र नियमहरूको कडाइका साथ पालना गर्नुपर्ने र साथै चीनले आफ्नो वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न आवश्यक सबै उपायहरू अवलम्बन गर्ने’ भनेको छ।