खोटेहाङ गाउँपालिकामा शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २१ २०८०
1.9K
SHARES

२१ चैत काठमाडौं । खोटाङको खोटेहाङ गाउँपालिकाले आगामी शैक्षिकसत्र २०८१ देखि शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्न आह्वान गरेको छ ।  पछिल्लो समय जिल्लाभर सामुदायिक विद्यालय विद्यार्थी अभावमा रित्तिँदै गएको अवस्थामा सो गाउँपालिकाले नयाँ विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशन गर्दै शिक्षक, कर्मचारी र जनप्रतिनिधिकालाई आ–आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरेर पढाउन आह्वान गरेको हो ।

सामुदायिक विद्यालयप्रतिको घट्दो आकर्षणलाई उकास्न आफ्ना छोराछोरीलाई आफ्नो पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गरेर अध्ययन गराउन अनुरोध गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिए । ‘गाउँपालिकाको आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रम एवं चैत ८ को गाउँ कार्यपालिका बैठकको निर्णयअनुसार सामुदायिक विद्यालयमा भर्ना गर्न आह्वान गरिएको छ,’ उनले भने, ‘सो सूचनाको बेवास्ता गर्दै उहाँहरू सबैले निजी विद्यालयमा भर्ना गरे उहाँहरूले पाउने तलब, भत्तालगायत सेवा सुविधा रोक्का गर्छौं ।’

गाउँपालिकाले लागू गरेको यस व्यवस्थाले शिक्षक, कर्मचारी र जनप्रतिनिधिलाई आफ्ना छोराछोरी बोर्डिङ स्कूलमा पढाउन रोक लगाएको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधारका निम्ति गाउँपालिकाले अवलम्बन गरेको नीतिलाई सहयोग गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, शिक्षाप्रेमीलगायत सरोकारवालासँग सार्वजनिक सूचनामार्फत अपिल गरेको छ ।