आगामी बजेट आशावादी बनाउँदैछौं – अर्थमन्त्री पुन


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २७ २०८१
2.2K
SHARES

२७ वैशाख काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि आशावादी बजेट बनिरहेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको प्रिबजेट छलफलमा उनले यस्तो बताएका हुन ।बजेट निर्माणका क्रममा धेरै क्षेत्रसँग सरकारले अन्तक्रिया गरिसकेको र सो क्रममा सबैतिरबाट अर्थतन्त्र शिथिलता छ भन्ने सुनिएको बताए ।गत वर्षभन्दा सुधारोन्मुख अवस्था रहेका कारण आशावादी रहेर बजेट बनाइरहेको उनले बताए ।

‘निजी क्षेत्रको कन्फिडेन्स घटेकोमा मनोबल उठाउने कुरालाई प्राथमिकता दिन्छौं, परिवार, सम्पत्ति र व्यवसायको सुरक्षालाई हामी प्राथमिकता दिन्छौं,’ उनले भने । यद्यपि कुनै व्यक्तिप्रति प्रश्न उठेमा त्यसको जवाफदेही स्वयम् व्यक्ति हुनु पर्ने उनले बताए ।प्रश्न उठेकै आधारमा अपराधी बनाउने आँखाले हेर्न छोड्नु पर्ने भन्दै उनले मनोबल उठाउने कोसिस गरिने बताए ।मनोबल उठ्न नसक्नुका कारण खोजेर सरकारले सहजीकरण गर्ने उनको भनाइ छ ।लगानी सम्मेलनमा सरकारले कानुन संशोधन गरेको स्मरण गर्दै उनले यसमा सरकार निजी क्षेत्रसँगै रहेको बताए ।औद्योगिक वातावरण बनाउन बजेटले भूमिका खेल्ने उनको भनाइ छ । सरकारका पनि आफ्नो सीमाहरू रहेको भन्दै यसलाई फुकाउँदै जानुपर्ने उनले बताए ।

वित्तीय नीति र मौद्रिक नीतिमा तालमेल मिलाउनु पर्ने सुझावमा आफूसहमत रहेको उनले बताए । यसपटक नीति कार्यक्रम, बजेट र मौद्रिक नीति फरक बाटोमा नजाने आश्वासन दिए ।अर्थमन्त्री र गभर्नर टाढा बसेर प्रतिस्पर्धा गर्ने विषय नरहेको भन्दै सबैको लक्ष्य मुलुकको विकास नै रहेको बताए ।

उनले बजेट बनाउँदा ठूलो प्रेसर भोग्नु परेको भन्दै मन्त्रालयहरुले सिलिङ बढाउन दबाब दिइरहेको बताए ।फरक-फरक धारणका बिचबाट संतोषजनक बजेट ल्याउनु पर्ने आवश्यक रहेको भन्दै उनले सुधारमा जोड दिने बताए ।युवामा भरोसा जगाउने प्रयासमा आफ्नो जोड हुने बताए । कसैको प्रभावमा नपरी पुस्ट्याइँसहित नीतिहरू परिवर्तन गरिने उनले बताए ।खर्च गर्न नसकिएको अवस्था सुधार गर्दै आगामी आवमा निजी क्षेत्रको स्रोत परिचालनलाई प्राथमिकता दिने बताए ।