प्रधानमन्त्री प्रचण्ड सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक , कसको कति ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ८ २०८१
7.2K
SHARES

८ जेठ काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा मंगलबार विवरण राखिएको छ ।

सार्वजनिक गरिएको विवरणअनुसार प्रधानमन्त्री प्रचण्डको विवरणमा पाँच तोला सुन राखिएको छ । जुन प्राप्तिको स्रोत पैतृक देखाइएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पत्ति १४ कठ्ठा जमिन र बैंकमा २५ लाख रकम रहेको उल्लेख गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रचण्डले बुझाएको सम्पत्ति विवरण अनुसार चितवनको भरतपुर नगरपालिका वडा नम्बर १४ मा १४ कठ्ठा जग्गा रहेको छ। प्रचण्डले त्यसलाई पैत्रिक सम्पत्ति उल्लेख गरेका छन्। २०६५ र २०७३ मा प्रधानमन्त्री बनिसकेका प्रचण्डको एभरेष्ट बैंक काठमाडौंमा नगद २५ लाख जम्मा रहेको उल्लेख गरेका छन्।यसैगरी प्रचण्डकी पत्नी स्वर्गीय सीता दाहालको नाममा चितवनमै एक कठ्ठा जमिन रहेको जनाएका छन्।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति विवरण पनि सार्वजनिक भएको छ। श्रेष्ठले बैंक खातामा एक लाख २२ हजार ९ सय १८ रुपैयाँ ६४ पैसा रहेको र सो रकम सेवा सुविधाबाट प्राप्त भएको उल्लेख गरेका छन्। गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा पैत्रिक जग्गा ३७ रोपनीभन्दा बढी रहेको र त्यो पनि २०५८ सालमा पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरिएको श्रेष्ठले उल्लेख गरेका छन्। उक्त जग्गा पार्टीलाई दिने प्रक्रियामै रहेको उनको भनाइ छ।

सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार उपप्रधान तथा भाैतिक मन्त्री रघुवीर महासेठसँग जनकपुर उपमहानगरपालिका र ललितपुर महानगरपालिकामा गरी दुई वटा घर छ। जनपुरका जुलीकुमारी महतोको नाममा ३ कट्ठाको घर–घडेरी रहेको छ। त्यस्तै, ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाममा बनेको घर छ। धुनषाको घर–घडेरी २०५५ सालमा र ललितपुरमा २०५६ सालमा खरिद गरेको जनाइएको छ।

पत्नी जुलीकुमारीकै नाममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ७ बिघा ३ कट्ठा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कट्ठा, ललितपुर महानगपालिकामा १ रोपनी ७ आना, जनकपुर उपमहानगपालिका ९ नम्बर वडामा ३ कट्ठा ११ धुरजग्गा रहेको खुलाइएको छ। यी सबै जग्गा जमिन २०६५, २०५८, २०५६ र २०५४ सालमा खरिद गरेको उल्लेख गरिएको छ।

त्यस्तै, रघुवीर महासेठको नाममा जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ मा १ बिघा १५ कट्ठा जमिन रहेको खुलाइएको छ। यो जग्गाजमिन खरिद तथा पैतृक सम्पत्तिबाट प्राप्त भएको उल्लेख गरिएको छ।

उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीरसँग नगद २ करोड २५ रुपैयाँ नगद मौज्दात छ। यो रुपैयाँ काठमाडौं  ललितपुरको साविक सैंबु, ललितपुर महानगरपालिकाको कित्ता नम्बर २२६, २३१, २४४, ३९२, ३९३, ३९४ लगायतका जग्गाहरूको बिक्री र पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख गरिएको छ।

उपप्रधानमन्त्री रघुवीरसँग ४३ तोला सुन रहेको छ। त्यस्तै साढे एक किलो सुन रहेको छ।सात थान औंठी, तीन थान सिक्री, तीन जोडी कानमा लगाउने टप, २ जोर सुनका बाला रहेको उल्लेख छ। यी जवाहरात पैतृक सम्पत्ति, खरिद र उपहारबाट प्राप्त भएको खुलाइएको छ।

पत्नी जुलीकुमारी महतोको नाममा गुडविल फाइनान्समा ५ लाख सेयर, महिला लघुवित्त संस्थामा १ करोड रुपैयाँको सेयर, कर्पोरेट बैंक वीरगञ्जको २ करोड ५० लाख रुपैयाँको सेयर रहेको छ। यी सम्पत्ति ऋण, सापटी, पैत्तृक र कृषिबाट प्राप्त भएको उल्लेख छ। महासेठले आफूसँग कुनै सवारी साधन नरहेको उल्लेख गरेका छन् भने सगोलमा केही पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन्।

रास्वपाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ।गृहमन्त्रीले बुझाएको सम्पत्ति विवरणमा पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठ वडा नम्बर ८ मा ५ आना जग्गा रहेको उल्लेख छ। उक्त जग्गा तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख छ। पारिश्रमिकबाट यो जग्गा किनेको उल्लेख छ।

रवि लामिछानेको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ। यो जग्गा पैतृक सम्पत्ति भएको उल्लेख छ। काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा निकिताको नाममा १० रोपनी (संगोलमा) जग्गा पनि छ। सम्पत्ति विवरणमा गृहमन्त्री लामिछानेले करिब ८० तोला सुन रहेको उल्लेख गरेका छन्। यो अधिकांश बुवाआमाबाट र केही खरिद गरिएको उल्लेख गरेका छन्। चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म रहेको उल्लेख छ। गृहमन्त्री रविका नाममा दुइटा बैंकमा गरी एक लाख १० हजार रुपैयाँ छ। निकिताको विभिन्न बैंक खातामा पाँच लाख ५८ हजारभन्दा बढी रकम छ। निकिताको नाममा ८ करोड ७५ लाख बराबरको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको छ। चार वर्ष पहिले घर किन्न एक करोड ५० लाख बैंकबाट कर्जा लिएको पनि उल्लेख छ।निकिताको नाममा ४२ लाख रुपैयाँमा कार २०७९ सालमा किनेको उल्लेख छ। निकिताकै नाममा तीन करोड रुपैयाँको नारी टिभी, एक करोडको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी रहेको उल्लेख छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको नाममा अचल सम्पत्ति नभएको खुलेको छ। उनले काभ्रेमा ९ लाख ९५ हजारमा ८-६-३० क्षेत्रफलको जग्गा किनेको देखिन्छ। उनले उक्त जग्गा संयुक्त नाममा रहेको र आफ्नो पारिश्रमिकबाट किनेको उल्लेख गरेकी छन्। चल सम्पत्तितर्फ ११ तोला सुन रहेको उल्लेख गरेकी छन्। उनले २०७५ असार ८ गते विवाह हुँदा १० तोला सुन उपहार पाएको उल्लेख गरेकी छन्। त्यस्तै आफ्नी हजुरआमाको मृत्युपछि १ तोला सुन पाएको उनले विवरणमा लेखेकी छन्। १०० तोला चाँदी विवाहमा उपहार पाएको पनि उल्लेख छ। उनीसँग हिराको सेट र हिराको टप पनि छ सुमनाको एनआइसी एसियामा रहेको बैंक खातामा १ करोड १५ लाख रुपैयाँ रहेको जनाएकी छन्। त्यसको स्रोत पारिश्रमिक भएको उल्लेख छ।  त्यस्तै एभरेष्ट बैंकमा पनि ३७ लाख रुपैयाँ छ।  उनका श्रीमान पावल लुकास स्काविन्सकीले बैंकमा १८९.७ हजार डलर रहेको उल्लेख छ।श्रेष्ठको विभिन्न कम्पनीमा शेयर पनि रहेको विवरणमा उल्लेख गरेकी छन्।

अर्थमन्त्री वर्षमान पुनको नाममा रोल्पामा पैतृक सम्पत्ति ८२० वर्ग मिटर क्षेत्रफल जग्गा रहेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार एनएमबी बैंकमा ३३ लाख ७० हजार ६१८ रुपैयाँ नगद रहेको छ ।त्यो पनि तलब भत्ता र भ्रमण भत्ता जोडेर विवरणमा देखाइएको छ । हलुका सवारी साधन भने पार्टीले दिएको उल्लेख छ । त्योबाहेक उनले आफ्नो नाममा केही पनि नभएको उल्लेख गरेका छन् । श्रीमती ओनसरी घर्ती मगरको नाम भने उनले उल्लेख गरेका छैनन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको २० लाख रुपैयाँ सहकारीमा रहेको छ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रीहरूको सम्पत्ति विवरण मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखेको छ ।  उक्त विवरणअनुसार सञ्चारमन्त्री शर्मासँग एक लाख ७८ हजार रुपैयाँ दुई बैंकमा बचत रहेको छ । कीर्तिपुरमा उनको २.५ तलाको घर रहेको उल्लेख छ । प्युठानमा रहेको पैतृक घर बिक्री गरी अर्काे घर निर्माणमा लगानी गरेको उल्लेख छ । पैतृक तथा उपहारबापतको ६ तोला सुन र दुई तोला चाँदी पनि उनीसँग रहेको छ । उनको परिवारका सदस्यसहितको नाममा एक हजार ५०० कित्ता आईपीओसहितको सेयर रहेको पनि उल्लेख छ । उनीसँग ३६ लाख रुपैयाँको कार र बैंकबाट ६५ लाख रुपैयाँ ऋण लिएको विवरणमा उल्लेख छ ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले ‘सेयर मार्केट’मा एक करोड बढी लगानी गरेका छन् । उनले मन्त्रिपरिषद्मा बुझाएको सम्पत्ति विवरणअनुसार उनीसँग १५ हजार ९०६ कित्ता सेयर रहेको छ । जसको मूल्य एक करोड ९ लाख ८० हजार ५०९ रूपैयाँ रहेको उनले उल्लेख गरेका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता समेत रहेका उनले आफ्नै बुबा विरेन्द्रभक्त श्रेष्ठसँग २० लाख रूपैयाँ ऋण लिएका छन् । २०७० सालमा लिएको ऋण अझै फिर्ता नगरेको विवरण उनले उल्लेख गरेका छन् ।हाल उनीसँग कुल ५० लाख ऋण रहेको पनि उल्लेख छ । उनीसँग ल्यान्ड क्रुजर, विद्युतीय सवारी साधन रहेका छन् । बैंकमा उनीसँग ८३ लाख ७२ हजार ७४५ रूपैयाँ रहेको छ ।

एकीकृत समाजवादीका मन्त्री धनबहादुर बुढाले सम्पत्ति विवरणमा सात वटा घर देखाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।सार्वजनिक विवरणमा सहरी विकास मन्त्री धनबहादुर बुढाको डोल्पाको ठूली भेरी नगरपालिका वडा नम्बर ३ मा ४ वटा घर उल्लेख छ। करिब पाँच रोपनी क्षेत्रमा उक्त घरहरू रहेको उनले बताएका छन्। यो सम्पत्ति पैतृक भएको बुढाले उल्लेख गरेका छन्। यी घर–घडेरी उनको र श्रीमती हिमालीको नाममा रहेको छ। त्यस्तै श्रीमतीको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धमा सात तले घर रहेको छ। त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धमै तीन तले दुईवटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ। यो सम्पत्ति व्यापार व्यवसायबाट आर्जन गरेको उनले खुलाएका छन्। श्रीमती हिमाली बुढाकै नाममा काठमाडौंको महानगरपालिका वडा नम्बर ६ बौद्धमा ७ आना जग्गा रहेको छ। यो सम्पत्ति पनि उनले पैतृक र व्यापार व्यवसायबाटै आर्जन गरेको उल्लेख गरेका छन्।मन्त्री धनबहादुर बुढाको नाममा १५ नगद मौज्दात रहेको र श्रीमती हिमाली बुढाको नाममा ४५ लाख मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख छ। उनले यो नगद व्यापार, व्यवसायबाट कमाएको उल्लेख छ।त्यस्तै उनले हाइलक्स र प्राडो गरी दुईवटा गाडी रहेको पनि सम्पत्ति विवरणमा खुलाएका छन्।

वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। जसमा वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको विवरणमा १२ बोरको राइफल बन्दुक उल्लेख गरेका हुन्।उनले सप्‍तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९मा छानाले छाएको दुई वटा घर र एउटा निर्माणाधीन रहेको विवरणमा उल्लेख गरेका छन्।त्यस्तै श्रीमती साबित्री देवी साह सुडीको नाममा पनि पाँच वटा घर र शैलेशकुमार साहको एउटा घर रहेको उल्लेख छ।उनले विभिन्न ठाउँमा जग्गा किनेको र पैतृत जग्गाको विवरण पनि खुलाएका छन्। उनकी श्रीमती सावित्री देवी साह सुडीसँग ५६ तोला सुन र ६५० ग्राम चाँदी रहेको छ। विवाह गर्दा ससुराली र बुबा आमाबाट उपहारस्वरूप प्राप्त भएको जनाएको छ।  उनका छोरासँग पनि ३५ तोला सुन छ।तीन जना बुहारीहरू माधवी भारतीसँग २२ तोला सुन, शालिनी देवीसँग १७ तोला र मंजु साहसँग २८ तोला सुन छ। मन्त्री सुडीको विभिन्न बैंकमा ४० लाख भन्दा बढी नगद देखिएको छ।