बिरौटामा सिटिजन्स बैंकको १९३औं शाखा विस्तार


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २२ २०८१
2.9K
SHARES

२१ असार काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कास्कीको पोखरा महानगरपालिका बिरौटामा आफ्नो १९३औं शाखा संचालनमा ल्याएको छ । यससँगै गण्डकी प्रदेशमा मात्रै संचालनमा रहेका शाखाहरुको संख्या १४ पुगेको छ ।

बिरौटामा बिहीबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पुर्‍याउने क्रममा पोखरामा थप एक शाखा संचालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने बताए ।

सुविधा सम्पन्न यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ ।

नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिनेछ । डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको बैंकले जनाएको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ ।

उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।

बिरौटामा आफ्नो नयाँ शाखाको शुभारम्भ गरेको दिनमानै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा १७ छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव वेदविज्ञान पाठशालालाई दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु उपलब्ध गराएको छ । पाठशालामा आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।