आज हरितालिका तीज


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २१ २०८१
1.8K
SHARES

२१ भदौ काठमाडौं । आज हरितालिका (तीज) पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा विशेषगरी हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गर्छन्। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

तीज पर्वको अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशैभरीका शिवालयहरुमा भक्तजन महिलाको घुइँचो लाग्छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।

पौराणिक कथाअनुसार वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन्। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए।

साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन्। यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ।