त्रिविमा पाँच वर्षमा २३ लाख ३३ हजार विद्यार्थी भर्ना, ३ लाख ७२ हजार पास


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २३ २०८१
2.4K
SHARES

२३ कार्तिक काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा पछिल्लो पाँच वर्षमा २३ लाख ३३ हजारभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । शैक्षिक वर्ष २०७५ देखि २०८० सम्मको तथ्याङ्क हेर्दा स्नातक तहदेखि पीएचडीसम्मका लागि २८ लाख ३३ हजार २६५ विद्यार्थी भर्ना भएका हुन् ।सोही अवधिमा तीन लाख ७२ हजार १८ विद्यार्थी मात्रै दीक्षित भएका छन् । अर्थात् भर्ना भएको विद्यार्थीको तुलनामा १३.१३ प्रतिशत मात्रै दीक्षित भएका हुन् । हरेक वर्ष ५ लाखको हाराहारीमा विद्यार्थी भर्ना हुँदै आएका छन् । तर, पास भने ६० देखि ७० हजारको हाराहारीमा मात्रै छन् ।

शैक्षिक वर्ष २०७५/७७६ मा ४ लाख १५ हजार ४८२ भर्ना हुँदा ७० हजार ५६१ विद्यार्थी दीक्षित भएका थिए । यस्तै, २०७६/७७ मा ४ लाख १५ हजार ७७७ भर्ना र ५७ हजार १८३ दीक्षित भएका थिए । २०७७/७८ मा ४ लाख २२ हजार ६५३ भर्ना र ३० हजार १९९ दीक्षित भएका थिए ।त्यस्तै २०७८/७९ मा ४ लाख ५४ हजार ६५ भर्ना र ६३ हजार २२३ दीक्षित, २०७९/८० मा ५ लाख ३७ हजार ५६९ भर्ना र ७७ हजार १०३ दीक्षित र २०८०/८१ मा ५ लाख ८७ हजार ७१९ भर्ना र ७३ हजार ७४९ दीक्षित भएको त्रिविको तथ्याङ्क छ ।विद्यार्थी भर्ना हुने दर पास हुने दरमा निकै भिन्नता देखिएको हो । त्रिविले यसलाई न्यूनीकरण गर्दै पासदर समेत बढाउने योजनाहरू अघि सारेको छ । त्रिवि उपकुलपति प्राडा केशरजंग बरालले पढाइको गुणस्तर सुधार तथा परीक्षाको व्यवस्थापनका लागि काम गरिरहेको बताए ।