विश्वविद्यालय सिंहदरबार चलाए जसरी चलाउनु हुन्न – उपकुलपति


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर २४ २०८१
4.4K
SHARES

२४ मंसिर काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले डिन र क्याम्पस प्रमुख नियुक्तिका लागि आफू एक्लैले छनोट समिति र मापदण्ड नबनाएको बताएका छन् ।एमाले महासचिव शंकर पोखरेलले उपकुलपति बरालले आफू निकटकालाई डीन र क्याम्पस प्रमुख बनाउने गरी समिति र मापदण्ड बनाएको आरोप लगाएपछि उनले सबैलाई समेटेर समिति र मापदण्ड बनाएको स्पष्ट पारे ।

‘उहाँको आरोप सत्य होइन । कहाँ म एक्लैले बनाएको हो र ! साइन्सको, कृषिको, आईओएमको संयोजक को हुन् ? क्याम्पसको छनौट समिति रेक्टरले र सहपरीक्षा नियन्त्रकको रजिस्ट्रारले बनाएको हो । म एक्लैले कहाँ छनोट समिति गठन गरेको छु ? मेरो क्षेत्राधिकारमा पर्ने मैले बनाएको हुँ । कहाँ सबै एक्लैले गर्न सक्छु ?’,  बरालले प्रतिप्रश्न गरे ।मापदण्ड पनि प्राज्ञ वैचारिक संगठनसँग छलफल गररे बनाएको उनले दाबी गरे । ‘तीन महिना लगाएर वैचारिक संगठनसँग बसेर बनाएको हो’, उपकुलपति बरालले भने ।

उपकुलपति बरालले आफू एक्लैले विश्वविद्यालय चलाउन नसक्ने बताउँदै नियुक्ति कार्यकारी परिषद्ले गर्ने बताए । ‘विश्वविद्यालय भीसीले मात्र चलाउने होइन । नियुक्ति गर्ने कार्यकारी परिषद्ले हो । कसरी म एक्लैले चलाए भन्न मिल्छ ?’, उपकुलपति बरालले भने ।नियुक्तिका लागि दबाब आइरहेको हो भन्ने प्रश्नमा बरालले  भने, ‘डाइरेक्ट आएको छैन । कुनै नेताले यसलाई नियुक्ति गर भनेको छैन ।’

त्रिविमा ८ वटा संकायको डिन र १८ वटा क्याम्पसमा प्रमुख नियुक्ति गर्नुपर्ने छ । कार्यकारी परिषद्‌मा एकमत नहुँदा ढिलाइ भएको संकेत उपकुलपति बरालले दिए । ‘हामी भित्र एकमत भएको छैन,’ उनले भने, ‘सहमतिबाट नै नियुक्ति गर्छौं । म एक्लैले निर्णय गर्ने होइन ।’नियुक्तिको विषयमा दलका शीर्ष नेता नै आरोप प्रत्यारोपमा लागेका छन् ।

एमालेका महासचिव शंकर पोखरेलले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उपकुलपति बरालले मेरिटोक्रेसीको नाममा आफूले चाहेको व्यक्ति नियुक्ति गर्नेगरी छनोट समिति गठन गरेको आरोप लगाएका थिए । ‘विश्वविद्यालयमा एउटा निश्चित वैचारिक समूहलाई निषेध गर्नेगरी मेरिटोक्रेसीको भद्दा नाटक मंचन गरिरहेका छन् । यस प्रकारको क्रियाकलापले त्रिभुवन विश्वविद्यालय अघि बढ्ने होइन झन धरासाही हुनेछ,’ महासचिव पोखरेलले लेखेका छन् ।

यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत १४ मंसिरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनको कार्यक्रममा अहिलेको सरकारले त्रिविका पदाधिकारीहरूमाथि आक्रमण गर्न थालेको टिप्पणी गरेका थिए ।त्रिविका उपकुलपति बराल भने सिंहदरबार चलाए जसरी विश्वविद्यालय चलाउन नहुने तर्क गर्छन् । ‘सिंहदरबारमा जे छ विश्वविद्यालयमा पनि त्यस्तै गर्न खोज्नु हुन्छ । यो परम्परा रहेसम्म विश्वविद्यालय यस्तै रहन्छ’, उनले भने ।