घमण्ड नगरी विनयशील हुनोस् – प्रधानमन्त्री
१३ पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रूपमा बाँच्न पाउने अवस्था सिर्जनाका निम्ति प्राप्त ज्ञान प्रयोग गर्न आग्रह गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको शनिबार काठमाडौंमा आयोजित ५०औँ दीक्षान्त समारोहमा विश्वविद्यालयलका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले समाजलाई लोकतान्त्रिक, सु–संस्कृत र इमानदारपूर्ण बनाउन र विद्यावान् हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गरे ।प्रधानमन्त्री ओलीले उपाधि प्राप्त हुनेबित्तिकै अध्ययन पूरा नहुने तर्क गरे । प्राप्त ज्ञानलाई व्यावहारिक जीवनमा उतारेर परिष्कृत गर्न उनले आग्रह गरे ।
“आफैँसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्या काम लाग्दैन । ज्ञानलाई व्यावहारिक रूपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “हामीले मुलुकमा विद्यमान २० प्रतिशतको निरपेक्ष गरिबी अन्त्य गर्ने अभिभारा लिनुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ ।”