होटल उद्योगमा साढे पाँच खर्ब लगानी


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस १८ २०८१
4.3K
SHARES

१८पुस काठमाडौं । नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति रु पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रहेको छ ।

तथ्याङ्ककअनुसार होटल उद्योगमा रु साढे १० अर्बभन्दा बढी विदेशी लगानी रहेको पाइएको छ । नेपालमा एक लाख ४२ हजार दुई सय २३ होटल/रेस्टुरेन्ट रहेको तथ्याङ्क छ । कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा हेमराज रेग्मीका अनुसार कार्यालयले गरेको यो सर्वेक्षण यस विधाको पहिलो बृहत् सर्वेक्षण हो । यसअघि ‘होटल तथा लज सर्वेक्षण २०६०’ गरिएको थियो । उक्त सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित प्रतिष्ठान तारे होटल, रिसोर्ट र गैरतारे होटलमात्र समेटिएको थियो ।

डा रेग्मीका अनुसार यस पटकको सर्वेक्षणमा होटल, लज, रिसोर्ट, होमस्टे, अतिथि गृह/सेवा सदन, छात्राबास/होस्टेल, रेस्टुरेन्ट तथा क्याटरिङ÷पार्टी प्यालेसको विस्तृत सङ्कलन रहेकाले यो सर्वेक्षणलाई पहिलो बृहत् सर्वेक्षण भनिएको हो । देशभरका डेढ लाख होटलमध्ये एक हजार एक सय २१ होटलमा पूर्ण विदेशी लगानी रहेको छ । जसमध्ये एक हजार ७३ होटलमा एकल लगानी र ४८ मा विदेशीको संयुक्त लगानी रहेको पाइएको छ । देशभर ५९ होटलमा भने नेपाली र विदेशी लगानीकर्ताको संयुक्त लगानी छ ।