प्रभावकारी बन्दै ‘विद्यालय नर्स’ कार्यक्रम


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र ३१ २०८१
2.4K
SHARES

३१ चैत मकवानपुर । बागमती प्रदेश ‘विद्यालय नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वास्थ्य सजगता अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य, सरसफाइ र पोषण प्रवर्द्धन गर्न विद्यालयमा नर्स राख्न थालिएको हो  बागमती प्रदेशका ८४८ माध्यमिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लाका ११९ वटै पालिकालाई विद्यालय नर्स कार्यक्रमले समेटेको छ । माध्यमिक विद्यालयमा करार सेवामा नर्स नियुक्त गरी खटाइएको मन्त्रालयले जनाएको छ ।

किशोर–किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सुधारलाई मध्यनजर गर्दै तत्कालीन सरकारले २०७५ देखि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । नागरिकमा सकारात्मक र प्रभावकारी बनाउने गरी प्रदेश सरकारले ६ वर्षअघि सुरु गरेको कार्यक्रम हाल प्रदेशका ६२ प्रतिशत विद्यालयमा विस्तार भएको छ ।

बागमती प्रदेशमा माध्यमिक तहका एक हजार ३६२ विद्यालय छन् । काठमाडौँमा १७९ माध्यमिक विद्यालय छन् । तीमध्ये १०८ वटामा यो कार्यक्रम लागु भइसकेको छ ।रसुवामा १९ माध्यमिक विद्यालयमध्ये १८ वटामा एक नर्स एक विद्यालय कार्यक्रम लागु भएको छ । यस्तै दोलखामा ७२ प्रतिशत विद्यालयमा यो कार्यक्रम सुरु भइसकेको छ ।