युक्रेनमा प्याट्रियट प्रणाली पठाउँदै अमेरिका
२ साउन काठमाडौं । अमेरिकी अधिकारीले स्वीस सरकारलाई त्यहाँका निम्ति उत्पादन लाइनमा रहेका प्याट्रियट हवाई रक्षा प्रणाली युक्रेनतर्फ पठाउन लागिएको जानकारी दिएका छन् । स्वीस सरकारले जुलाई १७ मा अमेरिकाबाट प्राप्त सूचना सार्वजनिक गरेको हो ।यो कदमले युक्रेनमाथि जारी रुसी मिसाइल तथा ड्रोन आक्रमणको निरन्तर प्रतिरोध गर्न सहयोग पुर्याउने जनाइएको छ ।
स्वीट्जरल्यान्डले सन् २०२२ मा रेथियानद्वारा निर्मित पाँच प्याट्रियट प्रणाली ‘अर्डर’ गरेको थियो । ती प्रणालीको डेलिभरी सन् २०२६ मा सुरु भएर २०२८ सम्म चल्ने तय थियो ।स्वीट्जरल्यान्डले प्याट्रियट प्रणाली छनोट गर्नु लामो समयको हवाई रक्षा र निगरानी समीक्षाको हिस्सा भएको जनाएको छ । उसले ३६ अमेरिकी एफ–३५ लडाकु विमानको अर्डर पनि दिएको छ ।
गत वर्ष अमेरिकाले स्वीट्जरल्यान्डलाई अर्डर गरिएको पीएसी–३ एमएसई इन्टरसेप्टरको एक समूह युक्रेनमा पठाइने जनाएको थियो । ती प्याट्रियट प्रणालीसँग प्रयोग गर्न सकिने सबैभन्दा उन्नत इन्टरसेप्टर मानिन्छन् ।यसैबीच, जर्मनीले पनि यो हप्ता अमेरिकाबाट दुई प्याट्रियट प्रणाली किनेर युक्रेनलाई दिने प्रस्ताव गरेको छ । जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले जुलाई १४ मा वासिङटन भ्रमणका क्रममा एक प्याट्रियट सेटअपको लागत इन्टरसेप्टरको संख्यामा निर्भर गर्दै करिब एक अर्ब डलर पर्ने बताएका थिए ।
पिस्टोरियसले अमेरिकी रक्षामन्त्री पिट हेगसेथसँगको वार्तापछि खरिदबारे त्यहाँको प्रशासनसँग छलफल भइरहेको जानकारी दिए । लेनदेनसम्बन्धी बाँकी प्रश्न समाधान गर्न सकिने उनले बताए ।जुलाई १७ मा जर्मनीको विसबाडेनमा आयोजित ल्यान्डयुरो सम्मेलनमा नेटोका शीर्ष कमान्डर एवं अमेरिकी वायुसेना जनरल अलेक्सस ग्रिन्केविचले युक्रेनलाई रक्षात्मक हतियार आपूर्ति गर्न नयाँ पहल भइरहेको संकेत गरे ।