युक्रेनले रुससँग गर्यो शान्तिवार्ताको प्रस्ताव
४ साउन काठमाडौं । युक्रेनले रुससँग अर्को हप्ता नयाँ चरणको शान्तिवार्ता गर्ने प्रस्ताव गरेको छ । गत महिना वार्ता अवरुद्ध भएपछि युक्रेनले अर्को हप्ता रुससँग नयाँ चरणको शान्तिवार्ता आयोजना गर्ने प्रस्ताव गरेको अल्जजिराले जनाएको छ ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षा परिषद् सचिव रुस्तेम उमेरोभले रुसी वार्ताकारसँग अर्को हप्ता भेटघाटको प्रस्ताव राखेको शनिबार पुष्टि गरेका छन् ।
“युद्धविराम प्राप्त गर्न सबै कुरा गर्नुपर्छ,” जेलेन्स्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै भने, “रुसी पक्षले निर्णयहरूबाट लुक्न छोड्नुपर्छ ।”युक्रेनी नेताले पुटिनसँग प्रत्यक्ष वार्ता गर्न आफ्नो तयारी पनि दोहोर्याए । “वास्तविक शान्ति सुनिश्चित गर्न नेतृत्व तहमा भेटघाट आवश्यक छ,” उनले भने ।
रुसबाट यसबारे तत्काल कुनै प्रतिक्रिया नआएको बताइएको छ । पूर्वरक्षामन्त्रीसमेत रहेका उमेरोभ गत हप्ता राष्ट्रिय सुरक्षा र रक्षा परिषद्को प्रमुखमा नियुक्त भएका थिए । उनलाई वार्तामा थप गति दिने जिम्मेवारी दिइएको छ ।उनले यस वर्षको सुरुमा टर्कीमा भएका दुईवटा वार्तामा आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए, जसले कैदी र सैनिकको शव आदानप्रदान गर्ने सम्झौताबाहेक खासै नतिजा निकालेका थिएनन् ।
विगतका चरणहरूमा रुसले कडा मागहरूको सूची प्रस्तुत गरेको थियो, जुन युक्रेनलाई स्वीकार्य थिएन । रुसले युक्रेनलाई आफ्नो दाबी गरेका चारवटा क्षेत्र छोड्न र पश्चिमी सैन्य समर्थन अस्वीकार गर्न आह्वान गरेको थियो ।यद्यपि, रुसका प्रवक्ता दिमित्री पेस्कोभले शान्ति प्रयासहरूलाई थप गति दिन आवश्यक रहेको र जेलेन्स्कीको भनाइसँग मस्कोले सहमति जनाएको शुक्रबार संकेत गरेका छन् ।
यो परिवर्तन संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोमाथि दबाब बढाएपछि आएको बताइएको छ । डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि सुरुमा रुसप्रति सौहार्दपूर्ण दृष्टिकोण अपनाएका थिए ।्