ट्रम्प प्रशासनले गर्‍यो मार्टिन लुथर किङ जुनियरसँग सम्बन्धित दस्ताबेज सार्वजनिक


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन ६ २०८२
1.2K
SHARES

६ साउन काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मार्टिन लुथर किङ जुनियरसँग सम्बन्धित संघीय जाँच ब्युरो (एफबीआई)का रेकर्ड (दस्ताबेज) सार्वजनिक गरेको छ । तर, मार्टिन लुथर किङ जुनियरको परिवार र सन् १९६८ मा हत्या नहुँदासम्म उनले नेतृत्व गरेको नागरिक अधिकार संगठनले यसको विरोध गरेको छ ।

ती दस्ताबेज सन् १९७७ देखि अदालतको आदेशानुसार गोप्य राखिएको थियो । दस्ताबेजको संग्रहबाट कस्ता नयाँ ऐतिहासिक जानकारी पाइन्छ भन्ने तत्काल स्पष्ट छैन ।तर, राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालयले सोमबार (स्थानीय समय) एक वक्तव्यमा जनाएअनुसार, यसमा उनको हत्यासँग सम्बन्धित दुई लाख ३० हजारभन्दा बढी फाइल समावेश छन् । त्यसमा उनको हत्यामा दोषी ठहर्‍याइएका व्यक्ति जेम्स अर्ल रेसँग सम्बन्धित जानकारी पनि छ ।

एफबीआईले यी रेकर्ड पहिल्यै संकलन गरेको थियो । पछि ती राष्ट्रिय अभिलेख विभागलाई हस्तान्तरण गरिएको थियो । ती दस्ताबेज सार्वजानिक गर्नेबारे किङको परिवारलाई पहिल्यै जानकारी दिइएको जनाइएको छ ।परिवारमा उनका दुई सन्तान मार्टिन तृतीय र बर्निस छन् । उनीहरूले रेकर्ड सार्वजनिकअघि आफ्नो टिमसँग यी कागजातको समीक्षा गरेका थिए ।

सोमबार लामो वक्तव्यमा किङका दुवै सन्तान मार्टिन लुथर किङ तृतीय र बर्निस किङले उनीहरूका पितासँग सम्बन्धित जानकारी मानिसको चासोको विषय बनेको उल्लेख गरेका छन् । तर, उनीहरूले यो जानकारी अत्यन्त निजी र यसलाई पूर्ण ऐतिहासिक सन्दर्भमा मात्र बुझ्नुपर्नेमा जोड दिएका छन् ।

ट्रम्पले चुनावको समयमा सन् १९६३ मा तत्कालीन राष्ट्रपति जोन एफ केनेडीको हत्यासँग सम्बन्धित दस्ताबेज सार्वजनिक गर्ने वाचा गरेका थिए । जनवरीमा राष्ट्रपति बनेपछि उनले सन् १९६८ मा रबर्ट एफ केनेडी र मार्टिन लुथर किङको हत्यासँग सम्बन्धित दस्ताबेज पनि सार्वजनिक गर्न एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।अमेरिकी सरकारले मार्चमा जेएफकेका रेकर्ड खोलेर अप्रिलमा केही दस्ताबेज सार्वजनिक गरेको थियो ।