वार्ता थाल्दै अमेरिका र चीन
१२ साउन काठमाडौं । अमेरिकी र चिनियाँ वरिष्ठ आर्थिक अधिकारीले विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार विवाद समाधानको प्रयासस्वरूप स्टकहोममा सोमबारदेखि पुनः वार्ता सुरु गर्न लागेका रोयटर्सले जनाएको छ ।अमेरिकाले दिएको ‘अल्टिमेटम’अनुसार चीनले अगस्ट १२ को समयसीमाभित्र राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग स्थायी ट्यारिफ (कर) सम्झौता गरिसक्नुपर्नेछ ।
सम्झौता नभए १०० प्रतिशतभन्दा बढी करका कारण विश्वव्यापी आपूर्ति शृंखलामा पुनः अशान्ति निम्तन सक्नेछ । अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा वार्ता हुन लागेको छ ।अमेरिका–चीन वार्तामा कुनै ठूलो अपेक्षा छैन । मेको मध्यतिर ट्यारिफ र निर्यात नियन्त्रण शान्ति सम्झौताअनुसार अर्को ९० दिनसम्म वार्तालाई लम्ब्याउने सम्भावना पनि छ । तर, थप कर वृद्धि रोकेर व्यापारिक द्वन्द्व बढ्न नदिने जनाइएको छ ।
यसले ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच अक्टोबरको अन्त्य वा नोभेम्बरको सुरुमा सम्भावित भेटघाटका निम्ति परिस्थिति सिर्जना गर्न मद्दत गर्नेछ ।